फेटा, बारा – फेटा गाउँपालिकामा हाल धान बालीमा खैरा रोग र ब्याक्टेरियल लिफ ब्लाइट (BLB) व्यापक रूपमा देखिएको छ। गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सञ्जय कुश्वाहाले सोमबार फेटा–३ का किसान मुकेश गिरिको खेत अनुगमन गर्दा रोग तीव्र रुपमा फैलिएको पाइएको हो।
कुश्वाहाका अनुसार धान रोपाइँपछि २–४ हप्तामै पातको फेद र किनार पहेंलो हुने, मसिना खैरा दाग देखिनु र अन्ततः पात पुरै बदामे–खैरो बन्नु खैरा रोगका लक्षण हुन्। यसले जराको विकास रोक्ने, गाँज घटाउने र अन्ततः बोट सुकाउने खतरा हुन्छ।
उनले क्षारीय माटो, फस्फोरस र क्याल्सियमको बढी मात्रा तथा लामो समय पानी जम्नु खैरा रोग फैलनुको मुख्य कारण भएको बताए। रोग नियन्त्रणका लागि प्राविधिकले किसानलाई नाइट्रोजन र फस्फोरस मल सन्तुलित मात्रामा प्रयोग गर्ने, खेतमा उचित निकासको व्यवस्था मिलाउने, रोपाइँअघि प्रति हेक्टर २०–२५ किलो जिङ्क सल्फेट हाल्ने र आवश्यक परे रोपाइँपछि जिङ्क सल्फेट र चुनको घोल प्रयोग गर्ने सुझाव दिएका छन्।
त्यस्तै, धानमा देखिने अर्को गम्भीर समस्या ब्याक्टेरियल लिफ ब्लाइट (Xanthomonas oryzae pv. oryzae) रोग पनि देखिन थालेको प्राविधिकले जानकारी दिए। यस रोगका कारण धानको पात पहेंलो–खैरो हुँदै सुक्ने र उत्पादनमा ठूलो ह्रास आउने खतरा हुन्छ।
यसको व्यवस्थापनका लागि कुश्वाहाले सहनशील जात (Hardinath-1, Sabitri, Radha-4) प्रयोग गर्ने, स्वस्थ बीउ छनोट गर्ने, Trichoderma वा Pseudomonas fluorescens ले बीउ ट्रीट गर्ने, खेतमा लामो समय पानी जम्न नदिने, रोगग्रस्त पात संकलन गरी नष्ट गर्ने तथा अत्यावश्यक परे मात्र Streptocycline वा Copper oxychloride प्रयोग गर्ने सल्लाह दिएका छन्।
“धानमा रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी तरिका भनेको सहनशील जात प्रयोग गर्नु, सन्तुलित मल हाल्नु, पानीको उचित व्यवस्थापन गर्नु, रोगग्रस्त पात हटाउनु र विषादी अत्यावश्यक परे मात्र प्रयोग गर्नु हो,” प्राविधिक कुश्वाहाले किसानलाई सुझाव दिए।