बिरगंज महानगरमा जेनजी आन्दोलनका क्रममा भीषण आगजनी र तोडफोड।

10

बिरगंज – जेनजीद्वारा आयोजित आन्दोलनको क्रममा मंगलवारदेखि वीरगञ्ज महानगर क्षेत्रमा ठूलो तोडफोड, आगजनी र लुटपाट भएको छ। महानगरका उपप्रमुख इम्तियाज आलमले घटनास्थल अवलोकन गर्दै ९५ प्रतिशत संरचनामा क्षति पुगेको जानकारी दिनुभयो।

उपप्रमुख आलमका अनुसार आन्दोलनकारीहरूले नगरप्रमुख राजेशमान सिंह, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय चौरसिया, कांग्रेस केन्द्रीय सदस्य अनिल रुङ्गटा, पूर्व खानेपानी मन्त्री प्रदीप यादव, कांग्रेस जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री राजकुमार गुप्ता लगायतका नेताहरूको घरमा तोडफोड र आगजनी गरेका छन्। उपप्रमुख आलमको निजी घरसमेत तोडफोड भएको छ।

“मेरो घरमा ढुंगा हान्ने मात्र नभई भित्रै पस्ने प्रयास गरिएको थियो। तर टोलका युवाहरूले प्रतिवाद गरेर ठूलो क्षति हुनबाट जोगाए,” आलमले बताउनुभयो।

महानगरको भवन र सवारीसाधनमा भने ठूलो क्षति पुगेको छ। परिसरभित्र रहेका करिब आधा दर्जन भवन जलेर नष्ट भएका छन्। कम्प्युटर, प्रिन्टर, हार्डडिस्क, कार्यालयका महत्त्वपूर्ण कागजातसहितका सामग्री जलेर खरानी भएका छन्। कुर्सी, टेबललगायत फर्निचर र उपकरण चोरी र जलाइएका छन्।

उपप्रमुख आलमका अनुसार १३ वटा सवारीसाधन र ७ वटा मोटरसाइकलसहित करिब आठ करोड रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ।

यसैबीच, महानगर प्रहरीले चोरी भएका सामान फिर्ता ल्याउने अभियान सुरु गरेको छ। बिहीबारदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म ९ वटा हार्डडिस्क, १ वटा केबल टेस्टर, ३ वटा कन्वर्टर, टेबल, कुर्सी लगायतका सामग्री फिर्ता ल्याइएको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनुभयो।

हाल महानगरका सरसफाइ कर्मचारीहरूले परिसर वरपर सफाइ अभियानलाई निरन्तरता दिइरहेका छन्। तर, कार्यालय सञ्चालन गर्नका लागि नयाँ संरचना र व्यवस्थापन पुनर्निर्माण गर्न अझै लामो समय लाग्ने देखिएको छ।

Leave a comment