स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति सभा एवं पत्रकारिता पुरस्कार वितरण बीरगन्जमा सम्पन्न

9

समाजवादी प्रेस संगठन पर्साको आयोजनामा आज बीरगन्जमा स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट (नेपाल पोस्ट डेली) का सम्पादक मनोज पटेललाई सम्मानित गरियो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर सम्मानपत्र र २१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा अध्यक्ष नेपालले पत्रकारिताका चुनौतीपूर्ण पक्षहरूमाथि चर्चा गर्दै स्वतन्त्रता र साहसका साथ कलम चलाउन पत्रकारहरूलाई प्रेरित गर्नुभयो। उहाँले भ्रष्टाचार र विकास निर्माणको फितलो अनुगमनप्रति सरकारको कमजोरी औंल्याउँदै तीव्र सुधार आवश्यक रहेको बताउनुभयो।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले दिवंगत पत्रकार नरेश सर्राफले प्रेस जगतमा पुर्‍याएको योगदान सम्झँदै उहाँको निधनले अपूरणीय क्षति पुगेको धारणा व्यक्त गर्नुभयो। साथै, नेपाल पत्रकार महासंघको आउँदो निर्वाचनमा सहमतिबाट साझा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र साह, पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेश प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा उपाध्यक्ष युवराज खड्का, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मनोज चौधरी, रेडियो बीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहलगायतले मन्तव्य राख्नुभयो।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका प्रतिनिधिहरूको समेत उपस्थिति थियो। कार्यक्रम रेडियो वीरगंज परिसरमा आयोजना गरिएको थियो, जसको सञ्चालन समाजवादी प्रेस संगठनका सह–सचिव श्याम सर्राफले गर्नुभएको हो।

कार्यक्रमले पत्रकारिता क्षेत्रका चुनौती र समाधानका उपायमाथि व्यापक बहस सिर्जना गरेको छ।

Leave a comment