चीनले भारतीय नागरिकलाई यात्राकाे अनुमति नदिँदा नेलाललाई आर्थिक क्षति

70

काठमाडाैं । चीनले भारतीय नागरिकलाई यात्राकाे अनुमति नदिँदा नेलाललाई आर्थिक क्षति हुने भएकाे छ ।

चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ । कोभिड– १९ का कारण चीनले विदेशीलाई तिब्बत प्रवेशमा लगाएको रोक यस वर्षबाट हटाएसँगै कैलाश यात्रा खुलेको हो ।

चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई जाने अनुमति दिएको छ ।

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीको टोली आगामी साता कैलाश यात्राका लागि जाने तयारीमा छ । भारतीय तीर्थयात्रुले जान नपाएपछि आर्थिक रूपमा असर परेको कैलाश यात्राका नेपाली टुर अपरेटर व्यवसायी बताउँछन् ।

कैलाशको यात्रा गराउने पर्यटन व्यवसायीहरूको संस्था एसोसिएसन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष जितेन्द्र बस्नेतले चीनले भारतीय नागरिकलाई यात्राकाे अनुमति नदिँदा नेलाललाई आर्थिक क्षति हुने बताउनु भयाे ।

उहाँले भन्नुभयाे,‘कैलाश जाने विदेशीका लागि अनुमति (परमिट) प्राप्त हुन थालेको छ । आगामी साता कैलाशका लागि नेपालबाट टोली प्रस्थान गर्नेछ, तर भारतीय नागरिकलाई यात्राकाे अनुमति नदिने चीनकाे निर्णयले नेपाललाई आर्थिक क्षति हुनेछ।’

भारत र चीनबीचको राजनीतिक विषयले गर्दा भारतीय यात्रुलाई चीनले अनुमति (परमिट) दिएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे,’दुवै देशले एक–अर्को नागरिकलाई पर्यटन भिसा नदिएको असर नेपालकाे पर्यटन क्षेत्रमा परेको छ।’

सम्बद्ध स्रोतका अनुसार कैलाश यात्रासम्बन्धी हेर्ने ल्हासाका चिनियाँ अधिकारी गत साता काठमाडौं आएका थिए । ली नामका ती अधिकारीले कैलाश यात्रा गराउने टुर अपरेटरसँग छलफल गरेका थिए ।

ल्हासामा रहेको फरेन एक्सचेन्ज सेन्टरको कार्यालय मार्च पहिलो सातामा खुल्ने गरेको छ । सेन्टरको कार्यालयसँग समन्वय गरेर नेपाली ट्राभल अपरेटरहरूले नेपालबाट कैलाशमा यात्रीहरू जाने बन्दोबस्त गर्दै आएका छन् । भारतीयहरू रोकिएपछि नेपालगन्ज र हुम्लाको अर्थतन्त्रमा ठूलो असर पर्ने जानकारहरूको भनाइ छ ।

कैलाश जाने भारतीय यात्रीका कारण नेपालगन्ज तथा हुम्लाका होटेल चलेका थिए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार १८ वैशाखदेखि हुम्ला नाकाबाट मानिस तथा सामान ओहोरदोहोर सुरु गर्ने दुवै पक्षबीच सहमति भएको छ । यद्यपि, तातोपानी नाकाबाट भने कार्गो मात्रै ओहोरदोहोर हुनेछ ।

कैलाश यात्रामा जाने भारतीय र नेपाली तीर्थयात्रीको खानपिन र सहयोगका लागि हरेक सिजनमा करिब पाँच हजार नेपाली संलग्न हुँदै आएका छन् ।

‘कैलाश जान आउने भारतीय यात्रीहरू जाँदा दुई दिन र आउँदा दुई दिन नेपालमा रोकिने अवस्था हुन्थ्यो,’ एसोसिएसनका अध्यक्ष बस्नेतले भने, ‘चार रात उनीहरू नेपालमा बस्दा नेपाललाई आर्थिक रूपमा फाइदा हुन्थ्यो । भारत र चीनको विवादका कारण हामीलाई पर्यटनमा असर पर्न थालेको छ ।’

Leave a comment