काठमाडौं – यसपटकको निर्वाचनमा जनताले कसैलाई पनि बहुमत दिएका छैनन् । अघिल्लो निर्वाचनको जस्तो कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी मिल्दैमा बहुमत पुग्दैन । त्यस्तै, एमाले, माओवादी र एकीकृत समाजवादी मिलेर मात्र सरकार बनाउन सक्ने अवस्था छैन ।
त्यही भएर अहिले प्रमुख दलका नेताहरूको ओठतालु सुकेको छ । निर्वाचन आयोगले आज (बुधबार) समानुपातिक बन्दसूचीको अन्तिम नतिजा सार्वजनिक गरेसँगै नयाँ संसद् बस्ने र सरकार गठनको प्रक्रिया सुरु हुने छ ।
तर त्यसअघि नै कम्युनिस्ट शक्ति एक ठाउँमा उभिने प्रयासमा नेताहरू लागेका छन् । त्यसका लागि अहिले सबैभन्दा ठूलो टार्गेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परेका छन् ।
प्रचण्डलाई कांग्रेसको गठबन्धनबाट निकाल्न सके कम्युनिस्ट सरकार बनाउन सकिनेमा एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरू पुगेका छन् । त्यही भएर अहिले एमाले नेताहरू प्रचण्ड फकाउन दिनहुँ खुमलटार धाइरहेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायत नेताहरुले भित्रभित्र प्रचण्डलाई भेटेर लविङ गरिरहेका छन् ।
बरु प्रचण्डलाई प्रधानमन्त्री दिने तर कांग्रेसलाई सरकारको नेतृत्व गर्नबाट रोक्ने भन्दै उनीहरू प्रचण्ड निवासमा दिनहुँ पुग्ने गरेका छन् । जसकारण अहिले प्रचण्ड आफ्नो निवासबाट बाहिर निस्कन सकेका छैनन् ।
सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने निश्चितजस्तै छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र वामगठबन्धन बनाउने रणनीतिमा लागेका हुन् ।
प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेकाले पनि एमालेसँगको हिमचिमलाई धेरैले चासोपूर्वक हेरिरहेकाछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावलगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रचण्डको दाबी छ । तर अहिलेसम्म देउवा र प्रचण्डबीच त्यस्तो सहमति भएको बाहिरिएको छैन ।
तर, तत्काल सत्ता गठबन्धन छोड्ने स्थिति छैन । किनभने हिजो एमाले गठबन्धन छाडेर कांग्रेससँग मिलेर सरकार बनाउने र निर्वाचनमा जाने, आज फेरि कांग्रेस छाडेर एमालेसँग मिलेमा प्रचण्डको राजनीति करियर नै दाउमा लाग्ने निश्चित छ । यदि प्रचण्ड एमालेसँग लागेमा अर्को चुनावमा उनले देशका जुनसुकै क्षेत्रबाट उठे पनि हार्ने निश्चित छ ।