सि जिन्पिङका कारण ताईवान् मात्र हैन बिश्वलाई खतरा
चीनले नवीन विकासको ढाँचालाई तीव्रता दिँदै उच्च गुणस्तरको विकास पछ्याउने, नयाँ औद्योगीकरण अघि बढाउने, अन्तरिक्ष कार्य तथा डिजिटल विकासमा शक्ति बढाउने राष्ट्रपति सीको प्रतिवेदनमा उल्लेख
बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले शान्तिपूर्ण रूपमा सम्भव नभए ताइवानको एकीकरणका लागि बल प्रयोग गर्ने बताएका छन् । ताइवान समस्याको समाधान गर्ने विषय चिनियाँहरूको आन्तरिक मामिला भएकाले यसबारे आफैंले निर्णय लिनुपर्ने सीको भनाइ छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका र अन्य विशेष प्रतिनिधि गरी २३ सयभन्दा बढी प्रतिनिधिमाझ १९ औं केन्द्रीय समितिका तर्फबाट महासचिव सीले प्रस्तुत गरेको प्रतिवेदनमा नवीन विकासको ढाँचालाई तीव्रता दिँदै उच्च गुणस्तरको विकासलाई पछ्याउने, नयाँ औद्योगीकरणलाई अघि बढाउने, मुलुकको आधुनिकीकरण, उत्पादनको गुणस्तर, अन्तरिक्ष कार्य, डिजिटल विकासमा चीनको शक्ति बढाउनेलगायत विषयहरू समेटिएका छन् । प्रतिवेदनमा लेखिएको छ, ‘सबै हिसाबले आधुनिक समाजवादी देश निर्माण गर्न सर्वप्रथम उच्च गुणस्तरीय विकासलाई पछ्याउनुपर्छ ।’
राष्ट्रपति सीले पार्टीको १८ औं महाधिवेशनको १० वर्षमा सीपीसी स्थापनाको शतवार्षिक, चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र गरिबी निवारणजस्ता तीन प्रमुख घटना अनुभव गरेको बताए ।
विगत १० वर्षयता चीनको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा ५४० खर्ब चिनियाँ युआनदेखि ११४० खर्ब चिनियाँ युआनसम्म बढेको चर्चा गर्दै सीले १४० भन्दा बढी मुलुक र मुख्य व्यापारिक संस्थासँग साझेदारी गरी वैदेशिक लगानी आकर्षित गर्नुका साथै खुलापनको आभास दिलाएको दाबी गरे ।
प्रविधिका क्षेत्रमा चीनले गरेको प्रगति उत्साहजनक रहेको ठहर गर्दै सीले केही महŒवपूर्ण प्रविधिको विकास हासिल गरेर रणनीतिक नव उदीयमान उद्योग विकास गरेको चर्चा गरे । सीका अनुसार मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मंगलको अन्वेषण कार्य, समुद्री तथा भूमिगत अन्वेषण, सुपर कम्प्युटर, उपग्रह नेभिगेसन, विमान उत्पादन तथा बायोलोजिकल औषधि आदि क्षेत्रमा भएको प्रगतिले चीनले आविष्कारक मुलुकको परिचय बनाउँदै गएको बताए ।
प्रतिवेदनमार्फत सीले चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य विभिन्न जातजाति एकत्रित भएर समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने, दोस्रो शतवार्षिक लक्ष्य साकार तुल्याउने बताए । उनले भने, ‘सन् २०२० देखि २०३५ सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणलाई साकार तुल्याइनेछ । सन् २०३५ देखि यस शताब्दीको मध्यसम्म समृद्ध, लोकतान्त्रिक, सुसभ्य र मेलमिलापयुक्त समाजवादी बलियो मुलुकका रूपमा निर्माण गरिनेछ । आउँदो ५ वर्ष यो उद्देश्यलाई साकार तुल्याउने अवधि हो ।’
श्रम, ज्ञान तथा आविष्कारलाई प्राथमिकतामा राख्दै सीले समाजवादी बजार अर्थतन्त्रको विकासका लागि सुधार, उच्चस्तरको खुलापन, विकासको नयाँ ढाँचालाई प्रोत्साहन, आपूर्तिको संरचनात्मक सुधार, विश्व अर्थतन्त्रमा गतिशीलता र विश्वसनीयता, समग्र ग्रामीण पुनरुत्थान, खाद्य सुरक्षा, बीआरआईको गुणस्तरीयता, वातावरणीय प्रदूषण नियन्त्रण, स्वतन्त्र शान्तिपूर्ण कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण, भ्रष्टाचार नियन्त्रणलगायतमा उच्च महŒव दिएको उल्लेख गरेका छन् ।
१०१ वर्षको चिनियाँ कम्युनिस्ट पार्टीले जनगणतन्त्र चीन स्थापना भएयता ७३ वर्षसम्म अनवरत सत्ता चलाएको छ । प्रत्येक पाँच वर्षमा आयोजना हुने महाधिवेशनमा पार्टी प्रतिनिधिहरूले अघिल्लो केन्द्रीय समितिको प्रतिवेदन र केन्द्रीय अनुशासन निरीक्षण आयोगको प्रतिवेदनको जाँचबुझ, पार्टी विधान संशोधन, पार्टीका महŒवपूर्ण समस्यामाथि छलफल, नयाँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्नेछ । अक्टोबर २२ तारिख यो महाधिवेशन सम्पन्न हुने कार्यतालिका छ ।