समाचार

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

काठमाडौं, १३ कार्तिक । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेर जाँदै गरेको भिडियो खिच्ने पूर्ववायुसेना अधिकृत केएम तौसिफ सौरीको मृत्यु भएको छ।

 

बिहीबार ढाकास्थित तुराग नदीमा उनको शव फेला परेको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए।

 

हसिनाको भिडियो सार्वजनिक गरेकै कारण आफूलाई दुःख दिइएको र त्यसपछि हत्या गरिएको आरोप उनका परिवारले लगाएका छन्। अधिकारीहरूका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुनेछ। हालसम्म यो मृत्यु डुबेर आत्महत्या वा हत्या कुन कारणले भएको हो भन्ने स्पष्ट छैन्।

 

बंगलादेशी पत्रिका 'द डेली स्टार' का अनुसार ती अधिकारीको शव राजाबारी घाट नजिक फेला परेको थियो। उनले सेतो पाइन्ट र कालो सर्ट लगाएका थिए। सुरुमा प्रहरीले शवको पहिचान गर्न सकेको थिएन।

 

उनको खल्तीमा भेटिएको आइफोनको मद्दतले शवको पहिचान सम्भव भयो। शवको छेउमा एउटा हाते घडी पनि फेला परेको थियो। त्यसपछि शवलाई पोस्टमार्टम (शव परीक्षण) का लागि ढाकास्थित सहिद सुहरावर्दी मेडिकल कलेज अस्पताल पठाइयो।

 

सौरीको मृत्युपछि उनकी भदैनी मोशफेले फेसबुकमार्फत उनको हत्या गरिएको आरोप लगाइन्। बंगाली भाषामा लेखिएको उक्त पोस्टमा उनले भनिन्, "मेरो भाइको हत्या गरिएको छ। उसको अपराध के थियो ? के हसिना भाग्दै गरेको भिडियो साझा गर्नु नै उसको अपराध थियो ?" उनका अनुसार उक्त भिडियो सौरीले नभई उनका सहकर्मीले खिचेका थिए।

 

उनले वायुसेनाबाट अवकाश पाए पछि पनि सौरीलाई मानसिक रूपमा सताउने क्रम नरोकिएको आरोप लगाइन्। उनले जासुसहरूले आफूलाई निरन्तर पछ्याइरहेको दाबी गरिरहेका थिए। उता उनका भाइ (काकाका छोरा) का अनुसार सौरीको स्वास्थ्य राम्रो थियो र मृत्यु हुनुअघि उनलाई घरबाट बाहिर बोलाइएको थियो।

 

वायुसेनाबाट सौरीलाई किन हटाइयो भन्ने प्रश्नसमेत उठिरहेको छ। बंगलादेशी वेबसाइट ‘जागो न्युज’का अनुसार अन्तर-सेवा जनसम्पर्क निर्देशनालयले सन् २०२५ अगस्ट ४ मा उनको सेवाबाट बहिर्गमनबारे एक विज्ञप्ति जारी गरेको थियो। उक्त विज्ञप्तिमा सौरीलाई नियमअनुसार अवकाश दिइएको र उनीमाथि कुनै आरोप नलगाइएको उल्लेख छ।

 

यद्यपि, केही समाचार र सामाजिक सञ्जालका चर्चा-परिचर्चाहरूले उनको बहिर्गमनलाई हसिना देश छोडेर जाँदाको भिडियोसँग जोडिएको विवादसँग जोडेका छन्। उनका एक नातेदारले त सौरीलाई वायुसेनाबाट बाहिरिनु अघि र पछि दुवै समयमा दुर्व्यवहार गरिएको आरोपसमेत लगाएका छन्।

 

‘जागो न्युज’ का अनुसार उत्तरा प्रहरी चौकीका एक अधिकारी शाहिनुर जमानले बिहीबार जानकारी दिएअनुसार त्यस बेलासम्म सौरीको मृत्युका सम्बन्धमा प्रहरी चौकीमा कुनै उजुरी दर्ता भएको थिएन।

 

हाल पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिँदै छ। अनुसन्धानबाट सौरीको मृत्यु कसरी भयो भन्ने खुल्नेछ। हालको अवस्थामा उनको हत्या भएको पुष्टि भइसकेको छैन, न त उनको मृत्यु र हसिना देखिएको भिडियोबीच कुनै सम्बन्ध नै स्थापित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button