समाचार

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले प्रमाणपत्र पाउनबाट वञ्चित भएकी छन् । उनको नतिजालाई कांग्रेस केन्द्रीय निर्वाचन समितिले हाललाई होल्डमा राख्ने भएको छ। 

खड्काविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले विजेता सूचीमा परेर पनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जनाएको छ।

१५ जना निर्वाचित हुनुपर्ने महिला खुला कोटामा खड्काको नतिजा रोकिएपछि हाललाई १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएको छ। विनिताले दुई हजार ८६६ मत प्राप्त गरेकी थिइन्, जुन निर्वाचित हुन पर्याप्त मत संख्या हो। तर, कानुनी प्रक्रियाको टुंगो नलागेसम्म उनको नतिजा औपचारिक रूपमा सार्वजनिक नगरी होल्डमै राख्न पार्टीका उच्च पदाधिकारीले आग्रह गरेपछि समितिले यथास्थितिमा राखेको हो।

महिला खुलातर्फको १५ पदका लागि ३६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए। 

विनिताको पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग निकट सम्बन्ध रहेको, इजरायलमा केयर गिभरमा श्रम शक्ति पठाउँदा अकूत असुलेको, उनको बैंक खातामा अस्वाभाविक रूपमा एक करोड पैसा देखिएपछि सिआइबीले पक्राउ गरेको थियो । कांग्रेस महाधिवेशनस्थलमा मत माग्नेक्रममा सिआइबीले असोज २३ गते उनलाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले उनलाई थुना बाहिर राखेर मुद्दा चलाउन आदेश दिएपछि उनी रिहा भएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button