समाचार

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय ६० देखि ६५ वर्षका रामबहादुर थिङको मृत्यु भएको हो।

प्रहरीका अनुसार आईतवार साँझ करिब ५ बजे हेटौँडा–पथलैया सडकखण्डअन्तर्गत कुइक ट्वान्टी होटलअगाडि नम्बर नखुलेको सवारी साधनले थिङलाई ठक्कर दिएर फरार भएको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट  वरिष्ठ सई प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिङलाई प्रहरीले आफ्नै सवारी साधनमा तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याएको थियो।

अस्पतालमा साँझ ७ बजेर ३ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी र त्यसका चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेद्वारा जारी विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button