समाचार

ठेलामा शव बोकेर पोस्टमार्टम पठाएपछि प्रहरीमाथि कारबाही, सई निलम्बित

भारत बिहार मोतीहारीमा सडक दुर्घटनामा मृत्यु भएका युवकको शव प्रहरीले एम्बुलेन्स वा शववाहनको सट्टा ठेलामा राखेर अस्पताल पठाएको घटना सार्वजनिक भएपछि  प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी प्रशासनले तत्काल कारबाही गरेको हो।

बिहारको रघुनाथपुर बस स्ट्यान्डनजिकै शनिबार बसको ठक्करबाट तुरकौलिया पश्चिमी पञ्चायतअन्तर्गत मठवा गाउँका उमेश कुमारको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी गस्ती टोलीले शवलाई ‘जुगाड ठेला’मा राखेर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो।

मृतकको शवलाई यसरी असम्मानजनक र अमानवीय ढंगले ओसारिएको दृश्य सार्वजनिक भएपछि मृतकका आफन्त तथा स्थानीय आक्रोशित भएका थिए। उनीहरूले सडक अवरुद्ध गर्दै प्रहरीको लापरवाहीप्रति विरोध जनाएका थिए। अवस्था तनावपूर्ण बनेपछि सदर डीएसपी–१ दिलीप कुमार घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएका थिए।

घटनालाई गम्भीर रूपमा लिँदै मितीहारी जिल्ला प्रहरी प्रमुख आईपी एस अफिसर एसपी स्वर्ण प्रभातले छानबिनपछि रघुनाथपुर प्रहरी चौकीको गस्ती टोलीमा कार्यरत सई अम्बिका यादवलाई तत्काल प्रभावबाट निलम्बन गरेका छन्। साथै, रघुनाथपुर थानाध्यक्ष धनञ्जय कुमारसँग समेत घटनामा भएको लापरवाहीबारे स्पष्टीकरण मागिएको छ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन प्रहरीको नियमित जिम्मेवारीभित्र पर्छ। स्रोत–साधनको अभाव वा तत्कालीन परिस्थितिलाई कारण देखाएर मृतकको शवलाई सामान्य सामानझैँ ठेलामा राखेर पठाइनु प्रहरीको व्यावसायिकता र मानवीय संवेदनामाथि नै प्रश्न उठाउने घटना हो।

यद्यपि घटनामा संलग्न प्रहरीमाथि तत्काल निलम्बनको कारबाही हुनु प्रशासनले लापरवाहीलाई सामान्य रूपमा नलिएको संकेत हो। तर यस्ता घटना दोहोरिन नदिन शव व्यवस्थापनका लागि पर्याप्त साधन, स्पष्ट कार्यविधि र घटनास्थलमा खटिने प्रहरीलाई मानवीय संवेदनासहितको व्यवहारसम्बन्धी प्रशिक्षण आवश्यक देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button