दशौं खेलकुदमा भिभिआइपीका लागि सुर्खेतका दुई होटल ‘रिजर्भ’

सुर्खेत, १९ असोज । आगामी मंसिर १६ गतेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश राजधानीमा रहेका दूइृ ओटा होटल भिभिआईपिका लागि ‘रिजर्व’ गरिएको छ ।
वीरेन्द्रनगरमा रहेका सिद्धार्थ होटल र शुभ होटलका १५० वटा वेडहरु खेल अवधीभरका लागि सुरक्षित राखिएको कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्याक्ष प्रमोद हमालले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर र गुराँसे गरेर ४८ सयवटा सिंंगल बेडको व्यवस्था गरिएको छ भने छिन्चुमा २६५ ओटा बेडहरु तयारी अवस्थामा राख्न होटल व्यवसायीलाई भनिएको जानकारी दिए ।
वास व्यवस्थापनका लागि खासै समस्या नभएको बताउँदै उनले ६८ वटा विभिन्न सहकारी संस्था, होम स्टेहरुका हलहरुसमेत रहेकोले दैनिक ५५ सय देखि ६ हजार जनालाई वास व्यवस्थापन गर्न सकिने बताए ।
राखेपका सदस्यसचिव राम चरित मेहताले कर्णालीमा खेलकुद आयोजना गर्न आफूहरु तयार भई सचिवालयसमेत स्थापना गरिएको बताए । ‘यहाँ अब प्रतियोगिता आयोजना गर्नकालागि कुनै समस्या छैन । हामी कर्णालीमा खेलकुद प्रतियोगिता आयोजना गर्न तयार भएका छौँ । दशौं खेलकुद अब यहीँ हुन्छ, यसमा शंका नगर्नुस,’ उनले भने, ‘विभिन्न १२ वटा उपसमिति गठन भएका छन भने सचिवालयसमेत स्थापना गरिसकेका छौँ ।’
सहआयोजक रहेको सामाजिक विकास मन्त्रालय अन्र्तगतको कर्णाली प्रदेश खेलकुद विकास समितिका अध्यक्ष एवम सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले खेलकुद प्रतियोगिता तयारी गर्न सहआयोजकका रुपमा सरकार लागिपरेको बताए ।
‘कर्णाली दशौँ खेलकुद आयोजना गर्न सक्षम छ, त्यसकालागि हामीले निरन्तर तयारी गर्दै आइरहेका छौँ,’ उनले भने, ‘त्यसका अलावा अब हामी सातै प्रदेशका मुख्यमन्त्री, सम्वन्धित मन्त्री तथा खेलकुद विकास समितिहरुसँग आवश्यक छलफल, सल्लाह र सुझाव ग्रहण गर्ने योजनामा रहेका छौँ ।’
सचिवालयको उदघाटन गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले खेलकुदको महाकुम्भलाई सफल बनाउन प्रदेश सरकारले कुनैकसर वाँकी नराख्ने बताए । ‘कर्णालीलाई विगतमा कमजोर आँक्ने गरिएको थियो । त्यसको जवाफ हामी यो प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेर दिन चाहन्छौँ ।’ मुख्यमन्त्री शाहीले भने, ‘त्यहि तयारीमा सरकार लागेको छ । कर्णालीमा गास, वास र कपासको कुनै अभाव हुन नदिनेमा हामी सचेत छौँ ।’



