अन्तर्राष्ट्रियसमाचारसमाज

टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

टोकियो । खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तकको विषयमा जापानको टोकियो शहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ।
जापानमा लामो समयदेखि बसोबास गर्दै आइरहेका नेपाली समूदायको बाक्लो उपस्थितिमा आइतबार साँझ टोकियोस्थित सोलमारी रेस्टुरान्टमा आयोजना भएको कार्यक्रममा लेखक अर्यालले पुस्तकको बहुआयामिक पक्ष बारे प्रकास पारेका थिए।
कार्यक्रममा अर्यालले पुस्तक तयार पार्न आफूलाई २ वर्षको समय लागेको बताए। जापानको आइची–नागोया शहरमा हालै सम्पन्न २० औं संस्करणको एशियाली खेलकुदको सन्दर्भ पारेर लेखक अर्यालले १८ सेप्टेम्बरमा नागोया शहरमा पुस्तक विमोचन गरेका थिए।
अर्याल नेपाली खेलकुदको इतिहास लेख्ने पहिलो लेखक पनि हुन्। तीन वर्षअघि उनको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशनमा आएको थियो। आफ्नो दोस्रो कृतिको बारेमा प्रकास पार्दै उनले भने, ‘एशियाली खेलकुद जस्तो ठूलो प्रतियोगिता आयोजना भइरहेको स्थानमा आएर पुस्तक बिमोचन गर्न पाउँदा खुसी लागेको छ।’
उनले पुस्तक बारे जापानमा बसोबास गर्ने नेपाली समुदायले चासो राखेको र विमोचन कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
नेपालको ७५ वर्ष लामो अन्तर्राष्ट्रिय खेल इतिहासमा ओलम्पिकपछि सबैभन्दा ठूलो मानिने एशियाली खेलकुदको अवसरमा आयोजना स्थलमै पुगेर पुस्तक विमोचन भएको यो पहिलो अवसर हो। लेखक अर्यालले भने, ‘यो अवसर जापानमा जुरेकोमा म सबै सहयोगी मनप्रति हद्यदेखि आभारी छु।’
अर्याल विगत २७ वर्षदेखि खेल पत्रकारितामा सक्रिय छन्। उनले नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भए पनि यी दुई देशबीच त्योभन्दा अगाडिदेखि नै खेलकुदको सम्बन्ध स्थापित भइसकेको बताए। ‘दोस्रो विश्वयुद्ध पछि नेपाल र जापानलाई नजिक ल्याउने माध्यम नै खेलकुद हो। सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको पहिलो एशियाली खेलकुदमार्फत नेपाल र जापानबीच सम्बन्ध स्थापना भएको देखिन्छ,’ उनले भने, ‘त्यतिबेला आयोजक भारतले उपलब्ध गराएको घरमा नेपाल र जापानका खेलाडीहरु तलको फ्ल्याट र माथिको फ्ल्याटमा बसेका थिए। यहीबाट सम्बन्धको सुरुआत भएको हो।’
पहिलो एशियाली खेलकुदपछि जापानका पर्वतारोहीहरु नेपालको हिमाल चढ्न सन् १९५३ मा काठमाडौं आइपुगेको, नेपालले १९५८ मा टोकियो शहरमा आयोजना भएको तेस्रो एशियाली खेलकुदमा भाग लिएको, १९६४ मा टोकियो शहरमै आयोजना भएको ओलम्पिकमार्फत नेपाल ओलम्पिक अभियानमा सक्रिय भएको जस्ता विषयहरु पुस्तकमा समेटिएको लेखक अर्यालले बताए।
यस्तै, विश्वको सर्वोच्च हिमाल सगरमाथामा पहिलो स्की खेल्ने जापानी पर्वतारोही युचिरो मिउरादेखि सगरमाथा चढ्ने पहिलो महिलाको इतिहास रचेकी जुन्को ताबेईलाई नेपालका शेर्पा पथ प्रदर्शकहरुले कसरी सहयोग गरे भन्ने विषय पनि पुस्तकमा पढ्न पाइने उनले जानकारी दिए।
‘कोलम्बो प्लानअन्तर्गत सबैभन्दा पहिले नेपाल प्रहरीलाई प्रशिक्षण दिन आएका जापानी जुडो प्रशिक्षक इचिजो साकाइरीको सन्दर्भदेखि नेपालीहरुलाई आधुनिक भलिबलको ज्ञान दिने जापानी प्रशिक्षक सुन्जी यानागिता, जिम्न्यास्टिक प्रशिक्षक मासातो मोरी, नेपालका लिजेन्ड्री धावक बैकुण्ठ मानन्धरलाई प्रशिक्षण दिने जापानी गुरु कियोसी नाकामुराको बारेमा पनि पुस्तकमा स–विस्तार चर्चा गरिएको छ’, उनले भने।
नेपालले पहिलो पारा एशियाली खेल पनि जापानमा खेलेको थियो। सन् १९७५ मा जापानको ओइता शहरमा आयोजना भएको प्रथम सुदूर तथा दक्षिण प्रशान्त क्षेत्रीय तथा अपाङ खेलकुद (फेस्पिक) मा नेपालकी १३ वर्षीय खेलाडी सूर्यकुमारी गुरुङ र श्रीलाल महत्तर क्षेत्रीले स्वर्ण पदक जितेका थिए। यतिबेला सूर्यकुमारीको खेलबाट प्रभावित भएका जापानका युवराज अकिहितो र युवराज्ञी मिचिको हात मिलाउन प्यारापिटबाट मैदानमा उत्रिएको प्रसंगलाई पनि लेखकले आफ्नो पुस्तकमा समेटेका छन्। सन् १९९४ मा हिरोसिमामा आयोजना भएको एशियाली खेलकुदमा नेपाली ‘सेभ द मिशन’ नरेश अधिकारीको दुर्भाग्यपूर्ण निधनको कथा पनि पुस्तकमा समावेश गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का बरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, पूर्वअन्तर्राष्ट्रिय गोलकिपर अजर अधिकारी, मिडफिल्डर बसन्त गौचन, स्ट्राइकर हरि ठकुरी, पूर्व तेक्वान्दो खेलाडी तथा गायक नारायण गुरुङ, जापान–नेपाल समाजका निर्देशक शरद कुमार गुरुङ, जापानमा बसोबास गर्दै नेपाली फुटबललाई योगदान दिँदै आइरहेका जापान–नेपाल फुटबल संघका संयोजक तथा रानी पोखरी कर्नर टीम (आरसिटी) का पूर्वआक्रामक मिडफिल्डर शिव खड्का, लामो समयदेखि जापानमा कार्यरत अमित गौतम, मोना जापानका अध्यक्ष दीपक केसी, पूर्व पत्रकार तथा हाल जापानमा व्यवसाय गर्दै आएका नारायण रिमाल र मोहन घले तथा गोपाल भट्टराईलगायतको बाक्लो उपस्थिति थियो।
पुस्तक बारे चर्चा गर्दै एनआरएनएका बरिष्ठ उपाध्यक्ष शेरचनले नेपाल–जापानको खेल कुटनीति बुझ्न अर्यालको पुस्तक कोशेढुंगा सावित हुने बताए। उनले लेखक अर्याललाई बधाई दिँदै जापान र नेपालको सम्बन्धको विषयमा अरु पुस्तक पनि पढ्न पाइयोस् भनेर शुभकामना दिएका थिए।
भारतमा आयोजना भएको तेस्रो दक्षिण एशियाली खेलकुदमा नेपाललाई फाइनलसम्म पुर्याउन योगदान गर्ने स्टार गोलकिपर अजर अधिकारीले पनि नेपाल र जापानबीचको खेल सम्बन्धलाई उजागर गरेर लेखक अर्यालले जापानमा बसोबास गर्ने नेपालीहरुलाई गौरवान्वित तुल्याएकोमा बधाई दिए।
जापानमा नेपाली समुदायबीच फुटबल गतिविधि सक्रिय तुल्याउन योगदान गरिरहेका शिव खड्काले पनि आफू खेलाडी हुँदा अर्यालले फुटबलमा हुने बेथितिविरुद्ध सशक्त आवाज उठाएको बताउँदै जापानमा पुस्तक पढ्न पाउँदा खुसी लागेको बताए। यस्तै, पूर्वमिडफिल्डर बसन्त गौचनले पनि लेखक अर्यालले पुस्तक तयार पार्न धेरै मिहिनेत गरेको भन्दै जापानमा पुस्तक विमोचन गरेकोमा बधाई दिए। जापान–नेपाल मैत्री संघका निर्देशक शरद कुमार गौचनले पनि खेलकुदको माध्यमले देशलाई कसरी जोड्दो रहेछ भन्ने बुझ्न अर्यालको पुस्तक महत्वपूर्ण सावित हुने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button