समाचार

सङ्कटमा स्वीट्जरल्याण्डका हिमनदी: सन् २०२६ मा मात्रै ५% भन्दा बढी बरफ नष्ट

काठमाडौँ, १६ असोज । स्वीट्जरल्याण्डका हिमनदीहरूले विगत पाँच वर्षमा आफ्नो कुल परिमाण (मास) को करिब २० प्रतिशत हिस्सा गुमाएको विज्ञहरूले बताएका छन्।

 

अध्ययनअनुसार स्वीस हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। युरोपमा देखिएको अभूतपूर्व 'हिटवेभ' (अत्यधिक गर्मीको लहर) का कारण यस वर्ष हिमनदीको आकारमा इतिहासकै दोस्रो ठूलो गिरावट दर्ता भएको छ।

 

'ग्लेसियर मनिटरिङ इन स्विट्जरल्याण्ड' नेटवर्कको नयाँ अध्ययनअनुसार यस वर्ष मात्रै स्वीस हिमनदीको परिमाण ५.५ प्रतिशतले घटेको छ। प्रतिवेदनअनुसार विगत पाँच वर्षमा स्वीस हिमनदीहरूले आफ्नो कुल बरफको करिब पाँचौँ भाग गुमाइसकेका छन्। यसले भविष्यमा खानेपानीको आपूर्तिमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ। साथै, प्रतिवेदनले युरोपेली क्षेत्रका हिमनदीहरूको दीर्घकालीन अस्तित्वमाथि नै प्रश्न उठाएको छ।

 

"यस्तै अवस्था रहे अल्पाइन हिमनदीहरू दीर्घकालसम्म टिकिरहने कुनै सम्भावना छैन,"  ग्लामसका प्रमुख मथियास हुसले भने, "यस वर्ष हिमनदीहरूले ठूलो परिमाणमा बरफ गुमाएका छन्।" हिउँदमा कम हिमपात र गर्मीयाममा कीर्तिमानी तापक्रमका कारण हुसले सन् २०२६ लाई "विनाशकारी वर्ष" को संज्ञा दिएका छन्।

 

"यी हिमनदीहरू अब अस्तित्वमा रहने छैनन्," उनले थपे, "सम्भवतः आगामी १० देखि १५ वर्षभित्र यहाँ बरफ पूर्ण रूपमा समाप्त हुनेछ।" ग्लामसको प्रतिवेदनले विश्वव्यापी तापक्रम वृद्धिको असरबारे चिन्ता व्यक्त गर्दै विशेष गरी युरोप महादेश तीव्र गतिमा तातिरहेको उल्लेख गरेको छ।

 

मानवीय गतिविधिका कारण हुने जलवायु परिवर्तनतर्फ संकेत गर्दै हुसले भने, "अहिले हामीले अनुभव गरिरहेको तापक्रम वृद्धि शतप्रतिशत मानवीय गतिविधिका कारण भएको हो। यो एकदमै स्पष्ट छ। यदि मानवीय उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग नभएको भए यो स्तरको तापक्रम वृद्धि हुने नै थिएन।"

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button