समाचार

नगरपालिकाको सरकारी गाडीमा कर्मचारीको ‘रजाइँ’

मोरङ २ असाेज ।  मोरङको पथरी शनिश्चरे नगरपालिकाको सरकारी सवारीसाधन कर्मचारीले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको रहस्य सार्वजनिक भएको छ ।

बुधबार मध्यान्ह करिब १२ बजे नगरपालिकाको १ झ ५१४ नम्बरको बोलेरो जीपमा नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल र उनकी श्रीमती चढेर सुनसरीको इटहरीतर्फ गएको स्रोतले जनाएको छ । उक्त सवारी इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा पुगेको थियो ।

स्रोतका अनुसार नगरपालिकाको कार्यालयीय कामका लागि नभई शिक्षा शाखा प्रमुख खुलालकी श्रीमती सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा सहभागी हुन इटहरी गएको र सोही प्रयोजनका लागि नगरपालिकाको सरकारी गाडी प्रयोग गरिएको थियो । उक्त गाडी साँझ ५ बजे मात्र पथरी फर्किएको जनाइएको छ ।

यसरी नगरपालिकाको सरकारी गाडी कर्मचारीहरूले व्यक्तिगत कामका लागि दुरुपयोग गर्नु एक गम्भीर समस्या हो । साथै शिक्षा अधिकृत खुलाल कार्यालय समयमा आफ्नो व्यक्तिगत काममा हिँड्नुलाई कानुन विपरीत मानिन्छ । यस विषयमा शिक्षा शाखा प्रमुख नविन खुलालसँग बारम्बार टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

स्रोतका अनुसार हरेक शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको कार्यालय समय सकिएपछि लेखा शाखा प्रमुख विकास पोखरेलसहित केही कर्मचारीलाई नगरपालिकाकै सरकारी सवारी साधन प्रयोग गरी घरघरमा पुर्‍याउने गरिएको बताइन्छ । नगरपालिका परिसरबाट इटहरी हुँदै विराटनगरका विभिन्न स्थानमा कर्मचारीलाई पुर्‍याएर सरकारी गाडी पुनः पथरी फर्किने गरेको स्रोतको दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरेको को१झ ५१४ नम्बरको बोलेरो र नगर प्रमुखले विगतमा प्रयोग गर्ने गरेको को१झ ५७४ नम्बरको सवारीसाधन आलोपालो गरी कर्मचारीलाई घरसम्म पुर्‍याउन प्रयोग हुने गरेका छन् ।

सरकारी सवारी साधन सार्वजनिक सेवा प्रवाह तथा कार्यालय प्रयोजनका लागि प्रयोग गरिनुपर्ने भए पनि कर्मचारीको निजी आवतजावतमा प्रयोग गरिएको भए त्यसले सरकारी स्रोत-साधनको उपयोगसम्बन्धी प्रश्न उठाउने देखिन्छ ।

यस विषयमा सम्बन्धित सवारीसाधनको लगबुक, शुक्रबारको सवारी परिचालन विवरण तथा सवारी प्रयोगको स्वीकृतिबारे नगरपालिकाले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको जानकारहरु सुझाउँछन् । साथै आरोपित कर्मचारी तथा नगरपालिकाको आधिकारिक धारणा पनि सार्वजनिक हुन नगरका राजनीतिक दलहरुले माग गर्ने तयारी गरिरहेका  छन् ।

यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडासँग कुरा गर्दा उनले यस विषयमा अनबिज्ञता प्रकट गरे। ‘मलाई यस बिषयमा थाहा छैन, म र मेयर साब जलबायु परिवर्तन सम्बन्धि तालिममा मुस्ताङ गएका थियौं,यस बिषयमा म जानकारी लिन्छु । यस्तो गर्न पाइदैन,’ उनले भने ।

तस्बिरमा नगरपालिको सरकारी सवारीसाधन र निजी काममा सवारीसाधन प्रयोग गर्ने नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल र उनकी श्रीमती ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button