नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो

काठमाडौं, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखा नक्सालले खुला प्रतियोगितात्मक परीक्षामार्फत समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
नयाँ भर्नाअन्तर्गत प्रहरी सहायक निरीक्षक (एएसआई) जनपदतर्फ २११ पद छुट्याइएको छ। त्यस्तै, प्रहरी कार्यालय सहयोगीअन्तर्गत भान्से ८३, हजाम १५ र कुचीकार २५ गरी थप १२३ पदमा आवेदन माग गरिएको छ।
भर्नाका लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ। प्रहरी सहायक निरीक्षक पदका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ। प्रहरी कार्यालय सहयोगी पदका लागि भने तोकिएको कार्यालय समयभित्र सम्बन्धित स्थानमा उपस्थित भएर आवेदन दर्ता गर्नुपर्नेछ।
भर्नासम्बन्धी थप विवरण, आवश्यक योग्यता, परीक्षा प्रक्रिया र आवेदनसम्बन्धी जानकारी नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।



