समाचार

स्वास्थ्य संस्था सुधारको माग गर्दै १५ दिने अल्टिमेटम

जनकपुरधाम, ३० भदौ । मधेश युवा सञ्जालले प्रदेशका स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका समस्या तत्काल समाधान गर्न माग गर्दै प्रदेश सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन तत्काल सुधारका कदम चाल्न माग गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिरै सुत्केरी गराउनु परेको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु लगायतको घटनाप्रति सञ्जालले मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । 

यी घटनासहित प्रदेशभर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र विकृतिको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरिएको सञ्जालका किशन साहले बताए । उनका अनुसार प्रदेश सरकारसमक्ष गरिब, विपन्न, असहाय, गर्भवती, सुत्केरी तथा आकस्मिक बिरामीलाई आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नदिन प्रभावकारी व्यवस्थालगायतका सञ्जालले १३ बुँदे माग अघि सारेको हो । 

त्यस्तै, स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार लक्षित वर्गका लागि व्यवस्था गरिएको १० प्रतिशत निःशुल्क शैया तथा उपचार सेवा वास्तविक सेवाग्राहीले पाउने गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सञ्जालको माग छ ।

यसका साथै सञ्जालले प्रदेशभर सञ्चालित अस्पताल, क्लिनिक, नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थाको दर्ता, अनुमति, नवीकरण, पूर्वाधार, उपकरण र जनशक्तिको पुनः अनुगमन गर्नुपर्ने तथा मापदण्ड पूरा नगरेका वा अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कानुनी कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।

बिरामीमाथि हुने अनावश्यक परीक्षण, बढी शुल्क असुली, कमिसन, अनावश्यक औषधि तथा उपचारका नाममा हुने आर्थिक ठगी नियन्त्रण गर्न र सबै अस्पताल तथा स्वास्थ्य संस्थाले स्वीकृत शुल्कदर सार्वजनिक गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button