भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

वीरगन्जमा प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ। बरामद सामग्रीको मूल्य ११ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले भदौ २७ गते साँझ करिब ६ः३० बजे वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँमा निगरानी बढाएको थियो। सोही क्रममा भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा विभिन्न किसिमका लत्ताकपडा फेला पारी नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बरामद लत्ताकपडाको कुल मूल्य ११ लाख २ हजार १ सय ४० रुपैयाँ बराबरको रहेको छ।
नियन्त्रणमा लिइएका सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भदौ २८ गते वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सीमा नाकाबाट हुने भन्सार छली र अवैध ओसारपसार नियन्त्रणका लागि नियमित निगरानीसँगै सूचना संकलन र कारबाहीलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ।



