
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारी स्वरुप ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
गगन थापा पक्षले असोजमै महाधिवेशन गर्ने गरी कार्यतालिका अघि बढाइरहेका बेला देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशनको तयारी थालेको हो । देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने गरी पार्टीको तल्लो तहबाटै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
देउवा पक्षको सचिवालय समन्वय समितिले शनिबार विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्ने जनाएको छ । ती सबै समिति असोज ३ गतेभित्र गठन गरिसक्ने तयारी छ ।
देउवा पक्षले यसअघि नै मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । सोहीअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने र त्यसपछि क्रमशः पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
महाधिवेशन तयारीका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत तोकिएको छ । जसअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्राकुमारी लिम्बु, संखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै काठमाडौंमा कल्याणी रिजाल, ललितपुरमा मदनबहादुर अमात्य, चितवनमा कञ्चनचन्द्र वादे, कास्कीमा शंकर भण्डारी र कृष्ण गौतम तथा नवलपुरमा गुरु बराललाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ । बाँकी जिल्लामा पनि प्रतिनिधि खटाउने प्रक्रिया अघि बढाइएको देउवा पक्षले जनाएको छ ।
देउवा पक्षले सर्वोच्च अदालतमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहे पनि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको दाबी गरेको छ ।
कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रिया सञ्चालन गर्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । पार्टी सभापति गगन थापा पक्षले असोजमै महाधिवेशन गर्ने गरी आफ्नो कार्यतालिका अघि बढाएपछि देउवा पक्षले त्यसको प्रतिवादस्वरूप छुट्टै तयारी थालेको हो ।
दुवै पक्षले आ–आफ्नो कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसको महाधिवेशन विवाद थप पेचिलो बनेको छ । वडा अधिवेशनदेखि नै दुई पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाउने अवस्था बनेमा त्यसले पार्टीको वैधानिकता, नेतृत्व चयन र आगामी महाधिवेशनको प्रक्रियामाथि थप जटिलता निम्त्याउने देखिएको छ ।
देउवा पक्षले भने आफ्नो तयारीलाई महाधिवेशन सम्पन्न गर्ने वैधानिक प्रक्रियाका रूपमा अघि बढाएको दाबी गरेको छ । असोज ३ गतेभित्र अधिवेशन तयारी समितिहरू गठन गरी असोज १५ गते वडा अधिवेशन सुरु गर्ने र क्रमशः माथिल्ला तहका अधिवेशन सम्पन्न गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने उसको कार्यतालिका छ ।
यसअघि गगन थापा पक्षले पनि असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी तल्लो तहका अधिवेशनको तयारी अघि बढाइसकेको छ । एउटै पार्टीभित्र दुई पक्षले छुट्टाछुट्टै कार्यतालिका र संगठनात्मक प्रक्रिया अघि बढाएपछि कांग्रेसको महाधिवेशनसम्बन्धी विवाद निर्णायक चरणमा प्रवेश गरेको छ ।



