काठमाडौँ, २६ भदौ। फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले अर्को वर्ष हुने फिफा अध्यक्षको निर्वाचनमा पुनः निर्वाचित हुने जियानी इन्फान्टिनोको प्रयासप्रतिको आफ्नो समर्थन फिर्ता लिएको छ।
फिफाका व्यावसायिक प्रतियोगिताहरू सञ्चालन गर्ने कम्पनीमा निजी लगानीकर्ता भित्र्याउने योजना तीनवटा महादेशीय महासंघको तीव्र विरोधका कारण त्याग्न बाध्य भएदेखि नै स्विस नागरिक इन्फान्टिनो निरन्तर दबाबमा रहँदै आएका छन्।
यसअघि नै इङ्गल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सलगायत युरोपका धेरै राष्ट्रिय संघहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिइसकेका थिए। अब सोही सूचीमा फ्रान्स पनि थपिएको छ, जसको राष्ट्रिय टोली सन् २०१८ र २०२२ को विश्वकप फाइनलमा पुगेको थियो।
"सुरुमा फिफा अध्यक्षलाई समर्थन गरिएको थियो, जो त्यसबेला चयन प्रक्रियामा एक्ला उम्मेदवार थिए, तर अब त्यो समर्थनका लागि आवश्यक सर्तहरू पूरा भएका छैनन्," जारी एफएफएफको विज्ञप्तिमा भनिएको छ, "एफएफएफले गत जुन २९ मा समर्थन जनाए पनि फिफाको सुशासन र अध्यक्षसँग प्रत्यक्ष जोडिएका तथा सुशासनका आधारभूत सिद्धान्त र फुटबलको मूल्य-मान्यतासँग प्रत्यक्ष बाझिने खालका घटनाक्रमहरू देखिएका छन्।"
विज्ञप्तिमा अगाडि भनिएको छ, "युइएफए र अन्य विभिन्न महासंघहरूको संयुक्त प्रयासका कारण उक्त विवादित परियोजना पूर्ण रूपमा परित्याग गरिए पनि फिफाको सुशासनसम्बन्धी मुद्दा समाधान भयो भनी मान्न सकिँदैन। फिफा अध्यक्षका हालैका कदमहरूले फुटबलको छवि र एकतामा गम्भीर आँच पुर्याएकाले एफएफएफले आगामी निर्वाचनमा जियानी इन्फान्टिनोलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।"
इन्फान्टिनो हालसम्म आगामी निर्वाचनका लागि एकमात्र घोषित उम्मेदवार हुन्। केही सातायता बढेको आलोचना र दबाबका बाबजुद पुनः उम्मेदवार बन्ने उनको मनसायमा कुनै परिवर्तन नआएको फिफाका प्रवक्ताले पुष्टि गरिसकेका छन्।
यसैबीच, युरोपेली फुटबलको नियामक निकाय युइएफएले मतदानमा सहभागी हुने संघ-संस्थाहरूका लागि एउटा "विश्वसनीय" वैकल्पिक उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ। फिफा अध्यक्षको उम्मेदवारी दर्ताका लागि नोभेम्बर १८ सम्मको समयसीमा तोकिएको छ।
एफएफएफले विज्ञप्तिमार्फत विश्व फुटबलको शासन प्रणालीमा "दूरगामी सुधार" ल्याउने योजना तर्जुमा गर्न आह्वान गर्दै अघि बढ्ने उत्तम उपायबारे फ्रान्सेली तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रमुख व्यक्तित्वहरूसँग चरणबद्ध परामर्श सुरु गर्ने जनाएको छ।


