समाचार

भोटेकोशी बाढीसंगै बाराका १५ जना सम्पर्कविहीन, प्रशासनले सार्वजनिक गर्‍यो विवरण

बारा, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि बारा जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन्।

 

जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारी, हाइड्रोपावरमा कार्यरत कर्मचारी तथा ट्रक–कन्टेनर चालक रहेका छन्।

विवरणअनुसार मदन स्याङ्बो लामा जिल्ला प्रहरी कार्यालय रसुवामा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए। उनको स्थायी ठेगाना मकवानपुरको छतिवडा गाउँपालिका–४, नयाँ डमर उल्लेख गरिएको छ।

त्यसैगरी, परवानीपुर गाउँपालिका–५, बहुअरीका ३५ वर्षीय नम नारायण सिंह ट्रक लिएर रसुवा भन्सार पुगेका बेला सम्पर्कविहीन भएका छन्।

कलैया उपमहानगरपालिका–२२, धोध टोलका २३ वर्षीय सत्यप्रकाश राम, आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहाका २३ वर्षीय अंकित पटेल, प्रसौनी गाउँपालिका–३ का जितेन्द्रकुमार दास र कलैया–२३ का श्रीनिवास मण्डल पनि रसुवामा रहेका बेला सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ का रजित श्रेष्ठ र निजगढ नगरपालिका–९, शान्तिटोलका ३९ वर्षीय राज विष्ट त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए। उनीहरू दुवै बाढीपछि सम्पर्कविहीन भएका छन्।

करैयामाई गाउँपालिका–२ का ३० वर्षीय धिरज चौधरी, सुवर्ण गाउँपालिका–५, औरैयाका रुपेशकुमार साह र सुवर्ण गाउँपालिका–४, हरहियाका रमेशकुमार यादव पनि सम्पर्कविहीनको सूचीमा छन्। रुपेशकुमार साह नौकुण्ड गाउँपालिका, रसुवामा कार्यरत रहेको जनाइएको छ।

निजगढ नगरपालिका–९ का दिनेश परिवार ट्रक–कन्टेनर चालक हुन्। उनी रसुवाबाट सामान ढुवानीका लागि गएको अवस्थामा सम्पर्कविहीन भएका छन्।कलैया उपमहानगरपालिका–६, आदर्शटोलका २८ वर्षीय देवेश भट्टराई अपर त्रिशूली–३ ‘बी’ परियोजनाको पहिरेबेँसी प्रोजेक्ट साइटमा कार्यरत थिए। सुवर्ण गाउँपालिका–१ का २२ वर्षीय सुरजकुमार साह रसुवास्थित श्रीनाथ गण ब्राबल ब्यारेकमा कार्यरत थिए। उनी पनि बाढीपछि सम्पर्कमा आएका छैनन्।

 

त्यस्तै, निजगढ नगरपालिका–८ का ५५ वर्षीय उत्तम न्यौपाने भदौ १० गते काठमाडौं हुँदै रसुवा गएको र त्यसपछि परिवारसँग सम्पर्क नभएको प्रशासनले जनाएको छ।

सम्पर्कविहीन भएका व्यक्तिका आफन्त तथा परिवारजनले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, इलाका प्रहरी कार्यालय महेन्द्र जय नगर, सशस्त्र प्रहरी बेस तेलकुवा, निजगढ तथा जिल्ला प्रशासन कार्यालय बारामा जानकारी गराएका छन्।

प्रशासनका अनुसार सम्पर्कविहीन सबै १५ जना पुरुष हुन्। उनीहरू रोजगारी, सरकारी सेवा तथा मालसामान ढुवानीलगायतका कामका सिलसिलामा रसुवा पुगेका थिए।रसुवामा बाढीपछि ठूलो जनधनको क्षति भएको अवस्थामा बाराका नागरिकसमेत सम्पर्कविहीन भएपछि परिवारजनमा चिन्ता बढेको छ। उनीहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

 

प्रशासनले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित आपत्कालीन उद्धार निकायमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button