समाचार
पुर्व आईजीपी खनालको अपिल: बिपत्तिलाई स्वार्थको अवसर नबनाऊ

सञ्जय मिश्रा
रौतहट, ११ भदौ ।
नेपाल प्रहरीका पूर्वसंगठन प्रमुख एवं पूर्वआईजीपी सर्वेन्द्र खनालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपत्तिको समयमा हुने चोरी, लुटपाट, कालोबजारी र कृत्रिम अभाव तत्काल रोक्न आग्रह गरेका छन्।
खनालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी प्रभावित क्षेत्र, शोकमा रहेका परिवार, उद्धार तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी र सेवामा जुटेका कर्मचारीप्रति सम्मान तथा ऐक्यबद्धता व्यक्त गरेका हुन्।
उनले बाढीका कारण धेरै परिवार विस्थापित भएको, कतिपयले घरबार गुमाएको र कतिपयले आफन्तसमेत गुमाउनुपरेको उल्लेख गर्दै यस्तो पीडादायी अवस्थामा प्रभावित परिवारको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताएका छन्।
पूर्वआईजीपी खनालले विपत्तिको समयमा राहत र सहयोगका नाममा हुने लुटपाट, चोरी, कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धिप्रति विशेष चिन्ता व्यक्त गरेका छन्। संकटमा परेका नागरिकको विवशतालाई व्यापार वा व्यक्तिगत स्वार्थको अवसर बनाउनु अमानवीय हुने उनको भनाइ छ।
उनले सुरक्षाकर्मी, कर्मचारी, स्थानीय तह, सामाजिक संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनामा सबै मिलेर हातेमालो गर्न अपिल गरेका छन्।
प्राकृतिक विपत्तिपछि पीडित नागरिकको पहिलो आवश्यकता सुरक्षित उद्धार, खाद्यान्न, पानी, औषधि र आश्रय हो। यस्तो अवस्थामा राहत सामग्रीमा अनियमितता, कालोबजारी वा कृत्रिम अभाव सिर्जना भए पीडितमाथि थप अन्याय हुन्छ।
त्यसैले विपद् व्यवस्थापनसँगै राहत सामग्रीको वितरणमा पारदर्शिता, बजार अनुगमन र सुरक्षाको प्रभावकारी व्यवस्था पनि उत्तिकै आवश्यक देखिन्छ।
खनालको अपिलले विपत्तिको समयमा राज्यका निकाय मात्र नभई समाजका हरेक तहको जिम्मेवारी महत्वपूर्ण हुने सन्देश दिएको छ। अहिलेको प्राथमिकता आरोप–प्रत्यारोपभन्दा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने देखिन्छ।



