अर्थ/वाणीज्यराजनीतिराष्ट्रियसमाचारसमाज

२५० रुपैयाँको सामान किन्दा १० लाखको उपहार

काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बम्पर उपहार विजेताको नाम तथा कुपन नम्बर सार्वजनिक गरिएको हो।

उपहार योजनाअन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।

विजेता उपभोक्ताले साउन ७ गते उक्त स्टोरबाट सामान खरिद गरेका थिए। उपहार रकममा प्रचलित कानुनअनुसार कर कट्टा गरी बाँकी रकम उपभोक्तालाई उपलब्ध गराइने आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भूसालले जानकारी दिए।

त्यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले नगद उपहार जितेका छन्। उनीहरूको परिचय भने गोपनीयता कायम गर्ने उद्देश्यले सार्वजनिक नगरिएको महानिर्देशक भूसालले बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार प्रत्येक महिनाको १६ गते अघिल्लो महिनाको १ देखि १५ गतेसम्म तथा महिनाको अन्तिम दिन १६ गतेदेखि महिनाको अन्तिम दिनसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।

बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा स्वतः सहभागी हुनेछन्। तर, उपहार प्राप्त गर्न खरिदको बिल सुरक्षित राख्नु अनिवार्य हुनेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने खरिदपछि अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्नुपर्नेछ। त्यसपछि आन्तरिक राजस्व विभागको वेबसाइटमा बिल अपलोड गरी उपहार योजनामा सहभागी हुन कुपन लिनुपर्नेछ।

यस योजनाको उद्देश्य उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनु रहेको विभागले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button