पत्र-पत्रिकाविशेषसमाचार

श्रवण साह सहित एघार मातृभाषी पत्रपत्रिकाका सम्पादक सम्मानित

काठमाडौँ २३ भदौ
भाषा आयोगले एघार मातृ भाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ। भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा पत्रपत्रिकामार्फत भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न टेवा पुगेको भन्दै पत्रपत्रिकाका प्रकाशक एवं सम्पादकहरूलाई सम्मान गरेको हो।

आयोगले किरात वाम्बुले राईभाषामा प्रकाशित पत्रिका इक लिब्जुभुम्जुका सम्पादक गणेश राई, लिम्बु भाषामा प्रकाशित पत्रिका तान्छोप्पाका सम्पादक अमर तुम्याहाङ, वान्तावा भाषामा प्रकाशित पत्रिका बुङ्वाखाका सम्पादक पदम राईलाई सम्मान गरेको छ।

डोट्याली भाषामा प्रकाशित पत्रिका गुगुल्डिका सम्पादक वीरबहादुर चन्द, तामाङ भाषाबाट प्रकाशित तामाङ डाजाङका सम्पादक फूलकुमार बम्जन, नेपाल भाषामा प्रकाशित पत्रिका थौकन्हका सम्पादक रूकमणी श्रेष्ठ, बज्जिका भाषामा प्रकाशित पत्रिका बज्जिकावलका सम्पादक दिनेशकुमार श्रीवास्तव सम्मानित भए।

त्यस्तै, भोजपुरी भाषामा प्रकाशित पत्रिका भोजपुरी टाइम्सका कार्यकारी सम्पादक श्रवण प्रसाद साह नेपाली भाषामा प्रकाशित पत्रिका रचनाका सम्पादक रोचक घिमिरे, चाम्लिङ भाषामा प्रकाशित पत्रिका सितिमीका सम्पादक तिलकबहादुर राई र थारू भाषामा प्रकाशित पत्रिका लावा डग्गरका प्रतिनिधि भूमिका थारू सम्मानित भए।

यी सबै पत्रिकाका सम्पादकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मानपत्र वितरण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले भाषा आयोगले अझै अन्वेषण, तथ्यमा आधारित भएर कार्यक्षेत्र बढाउँदै गएर अनुसन्धान गरे भाषाहरू बढ्दै जाने बताए।

‘भाषा आयोग भाषा संरक्षणको लागि अघि बढेको छ, आगामी दिनमा अझ सफलता प्राप्त गर्न सकोस्, भाषाहरूको संख्या थपिएको छ,’ उनले भने, ‘आयोगको वार्षिक प्रतिवेदनमा १३१ वटा भाषा पुग्यो भनिएको छ, यसबाट के अनुमान लगाउन सकिन्छ भने हामीले भाषाहरू पत्ता लगाउन, हाम्रो भाषाहरूको खोजी गर्न अझै बाँकी छ भनेर अनुमान लगाउन सकिन्छ।’

भाषा आयोगले अझै कार्यक्षेत्र बढाउँदै जानुपर्ने पनि उनले बताए। ‘अझै पनि हाम्रा भाषा संरक्षण, संवर्द्धन विकास गर्नुपर्छ, यसमा विभिन्न मातृभाषी पत्रिकाका सम्पादकहरूको पनि विशेष भूमिका रहन्छ, भाषा संरक्षणको लागि मन्त्रालय सहयोग गर्नमा प्रतिबद्ध छ,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button