दैलेखमा सिडिओ नहुँदा तलवविहीन बने कर्मचारी

सुर्खेत, १९ कात्तिक । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा प्रशासनमा कार्यरत कर्मचारीहरु तलवविहीन बनेका छन् ।
दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ भने जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको हो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए । प्रजिअ नहुँदा प्रशासन भित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन्। यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ ।



