मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने

काठमाडौं, २० कात्तिक । आगामी मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने निश्चित गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यही दिन नामिबिया र युगान्डाबीचको खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।
नेपाल र इटालीसँगै नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतियोगितामा सहभागी हुनेछन्।
यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले सन् २०२७ को विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन्।
वेस्ट इन्डिज र आयरल्यान्डले विश्वकपमा स्वत: छनोट भएका टोलीबाहेकका उच्च वरीयताप्राप्त टोलीका रूपमा ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन्। त्यस्तै, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान क्रिकेट विश्वकप लिग(२ को शीर्ष चारमा रहँदै छनोट भएका हुन्।
अब नेपालमा हुने प्लेअफबाट छनोट हुने चार टोलीसहित १० टोलीले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।



