बाराको कोष तथा लेखा नियन्त्रण कार्यालयमा नेतृत्व फेरियो, गिरिको ठाउँमा रेग्मी आउँदै

बारा । कोष तथा लेखा नियन्त्रण कार्यालय बाराको नेतृत्व परिवर्तन भएको छ। कार्यालयका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरिको सरुवा भएपछि उनको स्थानमा दिनेश रेग्मी आउने भएका छन्।
गिरि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, काठमाडौंमा सरुवा भएका हुन्। उनको ठाउँमा मकवानपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक रेग्मीलाई पदस्थापन गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। कार्यालयले २०८३ कात्तिक ११ गते गरेको निर्णयअनुसार उपसचिवस्तरका कर्मचारीको सरुवा, पदस्थापन, काज व्यवस्थापन तथा जिम्मेवारी हेरफेर गरेको हो।
सोही निर्णयबाट बाराका प्रमुख कोष नियन्त्रक गिरि मन्त्रालयमा सरुवा भएका हुन् भने रेग्मीलाई बाराको जिम्मेवारी दिइएको छ। यससँगै कोष तथा लेखा नियन्त्रण कार्यालय बारामा नयाँ नेतृत्व आउने भएको छ।




