ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफाइल पदबाट हट्न सक्ने

काठमाडौं, २८ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफाइललाई पदबाट हटाउने विषयमा आफ्नो प्रशासनले विचार गरिरहेको पुष्टि गरेका छन ।
विभिन्न नकारात्मक खुलासा र विवादका कारण उनी हाल चौतर्फी दबाबमा परेकी छिन्। राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरकी पूर्वमंगेतरसमेत रहेकी गिलफाइललाई पदबाट हटाउने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले सोमबार पत्रकारहरूसँग भने, "हामी यस विषयमा अध्ययन गरिरहेका छौं। हो, हामी यसबाट खुसी छैनौं।"
हालै 'द वाल स्ट्रिट जर्नल' ले फक्स न्युजकी पूर्वप्रस्तोतासमेत रहेकी गिलफाइलका बारेमा शृङ्खलाबद्ध रूपमा लज्जास्पद विषयहरू सार्वजनिक गरेको छ। उनी ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन अभियानकी एक प्रमुख व्यक्तित्व हुन्।
पत्रिकाले प्रकाशित गरेको विवरणअनुसार गिलफाइलले ट्रम्पनिकट प्रभावशाली समर्थक एरिक डिटर्सलाई आफ्नो १ लाख अमेरिकी डलर बराबरको व्यक्तिगत क्रेडिट कार्ड ऋण तिरिदिन (वा मिनाहा गराउन) आग्रह गरेकी थिइन्। उनले जुलाई २०२५ मा डिटर्सलाई सन्देश पठाउँदै बिल भुक्तानीसम्बन्धी निर्देशिकाको पीडीएफसमेत पठाएकी थिइन्। तर, डिटर्सले भुक्तानी गर्न अस्वीकार गर्दै यसो गर्दा आफ्नो वैवाहिक सम्बन्ध नै जोखिममा पर्न सक्ने जवाफ दिएका थिए।
तथ्यहरूको पुष्टि गर्न 'जर्नल' ले सयौं सन्देश, इमेल र पत्रहरूको अध्ययन गरेको छ। जसमा राजदूत गिलफाइलले धनी ग्रीसेली व्यवसायीहरूको खर्चमा गरिएका विलासी भ्रमण र बसाइबारे गर्वका साथ चर्चा गरेका रेकर्डहरू पनि समावेश छन्।
उनी ग्रीसेली निर्माण कम्पनी 'एक्टर ग्रुप' का प्रमुख कार्यकारी अधिकृत अलेक्जान्ड्रोस एक्सार्चुसँग निजी जेटमा डाभोस गएकी थिइन्। ग्रीसेली सिपिङ टाइकुन (जहाज व्यवसायी) निकोलस साकोससँग स्विट्जरल्याण्डको विलासी रिसोर्ट 'ग्स्टाड' मा उनले क्रिसमस मनाएकी थिइन्। साकोससँगै उनकी श्रीमतीको फेसन शोमा भाग लिन पेरिस पुग्दा उनीहरू एक हप्तासम्म 'फोर सिजन्स होटल जर्ज पाँचौं' मा बसेका थिए, जसमा साकोसले नै बिल तिरेको समाचारमा उल्लेख छ।
त्यस्तै, गत जनवरीमा डाभोस आर्थिक मञ्चको छेउमा भएको रात्रिभोजको पाहुना सूचीबाट आफ्नो नाम छुटे पछि उनले असन्तुष्टि व्यक्त गर्दै अपमानजनक टिप्पणी गरेको कुराकानी पनि बाहिर आएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता एथेन्ससहितका युरोपेली देशहरूको भ्रमण गरिरहँदा यी आरोपहरू सार्वजनिक भएका हुन्। क्यालिफोर्नियाका पूर्वडेमोक्रेटिक गभर्नर गेभिन न्यूसमसँग समेत विवाह सम्बन्धमा रहेकी गिलफाइल माथि हाल पदको दुरुपयोग र स्वार्थ बाझिएको विषयमा तीव्र आलोचना भइरहेको छ।



