समाचार

लुटेरा गिरोहमाथि प्रहरीको ‘एक्सन’, इन्काउन्टर गरी २७ मुद्दाका आरोपीसहित तीन पक्राउ

काठमाडौं २२ असोज । काठमाडौं उपत्यकामा शृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्दै आएको समूहका मुख्य नाइकेसहित तीन जना प्रहरीले इन्काउन्टर गरी  पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार राति काँडाघारी क्षेत्रमा अप्रेसन चलाएर लुटेरा समूहका मुख्य नाइके आर्यन माझीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार माझी विभिन्न समयमा काठमाडौं, भक्तपुर र बनेपाका क्षेत्रमा सर्वसाधारणलाई बाटोमै घेरेर सिक्री, नगदलगायतका सामान लुटपाट गर्ने घटनामा संलग्न रहेको खुलेको छ। उनीविरुद्ध मात्रै २७ वटा डाँका तथा चोरीसम्बन्धी मुद्दा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

माझीसँगै प्रहरीले लुटपाटमा प्रयोग भएको मोटरसाइकल चालक मनोज कुमार मोक्तान र मोटरसाइकलको पछाडि बसेर लुटपाटमा संलग्न राकेश थिङलाई पनि पक्राउ गरेको छ।

प्रहरीका अनुसार कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा समूहको गतिविधि देखिएपछि टोलीले नियन्त्रणमा लिन खोजेको थियो। त्यस क्रममा आरोपितहरूले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि आत्मरक्षाका क्रममा गोली चलाइएको एसएसपी घिमिरेले बताएका छन्।

प्रहरीले उनीहरूलाई घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ। घटनामा एक प्रहरीसमेत घाइते भएका छन्। घाइते प्रहरी र पक्राउ परेका आरोपितहरूको उपचार अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरको नेतृत्व सम्हालेपछि एसएसपी घिमिरेको टोलीले फरार अभियुक्त, लुटपाट तथा गुण्डागर्दीमा संलग्न समूहविरुद्ध निगरानी र खोजी अभियानलाई तीव्र बनाउँदै आएको छ। प्रहरीले पक्राउ परेका तीनै जनाको विगतका आपराधिक गतिविधि तथा उनीहरू संलग्न अन्य घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button