मलेसियाबाट एन पेनाङ एफ सी पछि मकालु एफ सी जोहोरले पनि नेपालमा हुने फुटबल गोल्डकप खेल्ने ।

मलेसिया- मलेसियामा नेपाली समुदायबीच फुटबलको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको मकालु एफ सी जोहोरले नेपालमा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
मकालु एफ सी जोहोरले नेपालमा आयोजना हुने दोस्रो कनकाई मिनी गोल्ड कप २०८३ मा सहभागिता जनाउने भएको हो। सार्वजनिक गरिएको प्रतियोगिताको खेल तालिका अनुसार मकालु एफसीले रेड हर्स एफसी सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता कनकाई नगरपालिका, झापामा आयोजना हुने उल्लेख छ।
मकालु एफसीको सहभागिताले मलेसियामा रहेका नेपाली खेलाडी तथा क्लबहरूले नेपालमा आयोजना हुने घरेलु तथा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा समेत आफ्नो उपस्थिति बलियो बनाउँदै गएको देखाएको छ।
यसअघि मलेसियाको एन पेनाङ एफसीले पनि नेपालमा आयोजित इलाम गोल्ड कप २०८३ तथा चितवन गोल्डकप मा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा एन पेनाङ एफसीले नेपाली क्लबहरूसँग प्रतिस्पर्धा गरेको थियो।
मकालु एफसी भने मलेसियामा पनि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। हालै जोहोरबारुमा सम्पन्न दोस्रो मकालु गोल्डकप २०२६ को उपाधि समेत आयोजक मकालु एफसीले जितेको थियो। फाइनलमा हिमालयन एफसी क्वालालम्पुरलाई १–० ले पराजित गर्दै मकालु च्याम्पियन बनेको हो।
मकालु एफसीको यो सफलतासँगै मलेसियामा रहेका नेपाली खेलाडीहरूको प्रतिभा नेपालका ठूला प्रतियोगितामा समेत प्रदर्शन गर्ने अवसर बढेको छ। नेपालमा हुने प्रतियोगितामा सहभागिताले क्लबको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै नेपाल–मलेसिया नेपाली फुटबल सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
मलेसियाबाट नेपाल पुगेर नेपाली क्लबहरूसँग मैदानमा प्रतिस्पर्धा गर्ने मकालु एफसीको यात्रालाई मलेसियामा रहेका नेपाली फुटबल प्रेमीहरूले समेत उत्सुकतापूर्वक हेरेका छन्। आगामी प्रतियोगितामा मकालुले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि यात्रालाई अगाडि बढाउने लक्ष्य राखेको छ।
मकालु एफसी जोहोरको नेपाल यात्रा केवल एउटा फुटबल प्रतियोगितामा सहभागिता मात्र नभई, प्रवासमा रहेका नेपाली खेलाडीको प्रतिभालाई मातृभूमिको मैदानसम्म पुर्याउने महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।



