समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं, १९ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको बताए ।

पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने उल्लेख गरे ।

पाण्डेले कांग्रेसको तीन पटक केन्द्रीय सदस्यका रूपमा तथा ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवसँगै युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताएका छन् । ‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उनले भने ।

हाल कांग्रेसको सदस्यका रूपमा गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गरिरहेको उल्लेख गर्दै पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएर काम गर्दै आएको बताए ।

पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उनको भनाइ छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button