समाचार

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

काठमाडौं, १२ असोज । लगातारको झरी थामिएसँगै बाढी र पहिरोका कारण अस्तव्यस्त बनेका देशका प्रमुख राजमार्गहरू सफा गरी यातायात पुनः सञ्चालनमा ल्याउने कार्यले तीव्रता पाएको छ। काठमाडौँ उपत्यकालाई जोड्ने मुख्य सडकमार्गहरू आज दिउँसोसम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ।

गत बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी छिर्ने र निस्कने जीवनरेखा मानिएका पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशभरका दर्जनाौँ सडकखण्ड अवरुद्ध भएका थिए।

आइतबारदेखि मौसममा सुधार आएसँगै नारायणगढ–मुग्लिन खण्ड खुलाएर पोखरातर्फका सवारीसाधन सञ्चालन भइसकेका छन्। मुग्लिन–काठमाडौँ खण्डका अधिकांश स्थानमा पहिरो हटाइसकिएको भए पनि केही ठाउँमा अझै एकतर्फी मात्र गाडी चलिरहेका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित पानीधारामा आइतबार साँझ विशाल ढुंगासहित पुन: पहिरो खसेपछि दुवैतर्फको यातायात ठप्प भएको थियो। रातको समयमा काम गर्न जोखिमपूर्ण भएकाले रोकिएको पहिरो पन्छाउने कार्य सोमबार बिहानैदेखि सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पानीधाराको अवरोध हटाउनासाथ काठमाडौँ आउजाउ गर्ने मुख्य बाटो सहज हुनेछ। प्रहरीले कृष्णभिर क्षेत्रको सडक अवस्था जाँच गरेर मात्रै पूर्ण रूपमा गाडी छाड्ने वा नछाड्ने निर्णय लिइने जनाएको छ।

यसैगरी बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडकखण्ड, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग (दाङ–सल्यान), कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडकखण्ड पनि अवरुद्ध बनेका छन्। यी क्षेत्रहरूमा गेग्रान हटाउने र आवश्यक ठाउँमा वैकल्पिक डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्ने प्रयास भइरहेको सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button