समाचार

बिनासूचना गैरहाजिर नौ प्रहरीलाई सात दिनभित्र हाजिर हुन अल्टिमेटम

काठमाडौ, १२ असोज । आफ्नो कार्यालयमा बिनासूचना गैरहाजिर रहेका नौ जना प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालय (कानुन तथा मानव अधिकार महाशाखा) ले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त अल्टिमेटम दिएको हो।

गैरहाजिर रहेका कर्मचारीहरूको खोजतलास गर्दा र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि महाशाखाले यो सामूहिक सूचना प्रकाशित गरेको जनाएको छ। सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र अनुपस्थित हुनुको चित्तबुझ्दो र सन्तोषजनक कारणसहित सम्बन्धित वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन भनिएको छ।

तोकिएको समयभित्र हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। नियमावलीको अनुसूची १४ को भाग ४ को प्रयोजनका लागि गैरहाजिर प्रहरी कर्मचारीहरूलाई अन्तिम सफाइको मौका प्रदान गरिएको महाशाखाले जनाएको छ।

गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक प्रहरी नायब निरीक्षक शुक्र बहादुर महतो, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक खर्ग बहादुर गुरुङ, प्रहरी चौकी खुम्जुङ सोलुखुम्बुका प्राविधिक प्रहरी सहायक हवल्दार रोशन राई, र प्रहरी चौकी विरुवाअर्चले स्याङ्जाका प्रहरी सहायक हवल्दार सुरेश नेपाली रहेका छन्।

त्यसैगरी नेपाल प्रहरी भौतिक पूर्वाधार महाशाखा प्राविधिक गुल्म नक्सालका प्राविधिक प्रहरी जवान मोहन भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी जवान कल्पना रानामगर, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी जवान राजेन्द्र विश्वकर्मा, बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी जवान सुमन चौधरी, र प्रहरी चौकी फदवामेचकुरी कपिलवस्तुका प्रहरी जवान टोपलाल चौधरी पनि बिनासूचना गैरहाजिर रहेको समाचारमा उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button