मधेस प्रदेशसमाचार
उपसचिव हाजिर नभए पनि निमित्तकै नाममा खाता सञ्चालन, अन्य पालिकाको भुक्तानीमा भने रोक

कलैया–भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव प्रदर्शनी कुमारीलाई खटाएको करिब एक महिना पुग्न लाग्दा पनि उनी पचरौता नगरपालिकामा हाजिर भएकी छैनन्। तर, मन्त्रालयको निर्णयबाट जिम्मेवारी समाप्त भइसकेका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीकै नाममा पचरौता नगरपालिकाको बैंक खाता पुनः सञ्चालन गरिएको छ।
मन्त्रालयअन्तर्गत स्थानीय तह कर्मचारी प्रशासन शाखाले २०८३ भदौ १ गते निर्णय गर्दै उपसचिव प्रदर्शनी कुमारीलाई पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। मन्त्रालयको निर्णयअनुसार नयाँ प्रमुख प्रशासकीय अधिकृत खटिएपछि पुरानो निमित्तको प्रशासनिक जिम्मेवारी स्वतः समाप्त हुने भए पनि प्रदर्शनी कुमारी हालसम्म नगरपालिकामा हाजिर भएकी छैनन्।
यसैबीच मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले भदौ २९ गते विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा हेरफेरसम्बन्धी निर्णय सार्वजनिक गरेपछि कोष तथा लेखा नियन्त्रण कार्यालय, बाराले ती पालिकाका खातामा आंशिक रोक लगाएको थियो।
सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत नयाँ जिम्मेवारीमा हाजिर नभएसम्म सम्बन्धित पालिकाका खाताबाट कर्मचारीको तलबभत्ता, दायित्व तथा अत्यावश्यक भुक्तानीबाहेक अन्य भुक्तानीमा रोक लगाइएको थियो। तर, पचरौताको हकमा भने मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव खटाइसकेको अवस्थामा समेत पुरानो निमित्तको नाममा खाता सञ्चालन गरिएको घटनाले कोलेनिकाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख राधेश्याम गिरीले शुक्रबार पचरौता नगरपालिकाको खाता सञ्चालन गरिएको पुष्टि गरेका छन्। उनका अनुसार उपसचिव प्रदर्शनी कुमारीसँग आफूले कुराकानी गरिसकेको र उनले पचरौता आउने बताएकी छन्।
गिरीले पचरौताको खाता सञ्चालन नगरे जिल्लाको सम्पूर्ण हिसाब मिलानमा समस्या पर्ने भएकाले खाता सञ्चालन गरिएको दाबी गरे। तर, पचरौताको खाता सञ्चालन हुँदासम्म बाराका महागढीमाई नगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाका खातासमेत सञ्चालन हुन नसकेको अवस्था छ।
यसले पचरौताको खाताका विषयमा कोलेनिकाले अपनाएको मापदण्ड अन्य स्थानीय तहमा अपनाइएको मापदण्डसँग समान छ कि छैन भन्ने प्रश्न थप गम्भीर बनाएको छ।
गिरीका अनुसार पचरौताको खाता सञ्चालन भए पनि उपसचिव प्रदर्शनी कुमारी हाजिर नभएसम्म नगरपालिकालाई बजेट निकासा गरिने छैन। यद्यपि नगरपालिकाले आन्तरिक स्रोततर्फको बजेट भने खर्च गर्न पाउने उनको भनाइ छ।
२१ दिनको प्रावधान कहाँ लागू भयो ?
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले मन्त्रालयले कुनै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएपछि सम्बन्धित कर्मचारीले २१ दिनभित्र रवानापत्र नलिए खाता रोक्का राख्न मन्त्रालयबाट परिपत्र भएको जानकारी दिएका छन्।
पचरौता नगरपालिकाको हकमा मन्त्रालयले भदौ १ मै उपसचिव प्रदर्शनी कुमारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेको अवस्थामा उनी हालसम्म हाजिर नभएको विषयमा भने व्यवहारमा फरक प्रक्रिया देखिएको छ।
प्रजिअ अधिकारीले यस विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयसँग बुझ्ने बताएका छन्।
मन्त्रालयको निर्णय, कोलेनिकाले अन्य स्थानीय तहमा अपनाएको भुक्तानीसम्बन्धी रोक र पचरौताको हकमा पुरानै निमित्तको नाममा खाता सञ्चालन गरिएको अवस्थाबीच देखिएको फरक व्यवहारले स्थानीय तहको वित्तीय प्रशासनमा एउटै नियम सबै पालिकामा समान रूपमा लागू भइरहेको छ कि छैन भन्ने प्रश्न खडा गरेको छ।
विशेषगरी मन्त्रालयबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइसकेपछि पुरानो निमित्तको जिम्मेवारी समाप्त भएको मानिने अवस्थामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको बहानामा पुरानै निमित्तको नाममा खाता सञ्चालन गर्नुको कानुनी र प्रशासनिक आधार के हो ? भन्ने प्रश्न अहिले उठेको छ।
कोलेनिकाले भने पचरौताको खाता सञ्चालनलाई जिल्लाको वित्तीय हिसाब मिलानसँग जोडेको छ। तर, खाता सञ्चालनकै कारण हिसाब मिलान हुने हो भने अन्य चार स्थानीय तहको खाता किन सञ्चालन हुन सकेको छैन ? भन्ने प्रश्नको स्पष्ट जवाफ आउन बाँकी छ।
यस घटनाले बाराका स्थानीय तहमा खाता सञ्चालन, प्रमुख प्रशासकीय अधिकृतको सरुवा र आर्थिक कारोबार नियन्त्रणमा कोलेनिकाले समान मापदण्ड अपनाएको छ वा पालिकाअनुसार फरक व्यवहार गरेको छ भन्ने विषयमा थप छानबिन र स्पष्टताको आवश्यकता देखाएको छ। साभार: शुभ आरम्भ राष्ट्रिय दैनिक



