समाचार

एफएको कारबाहीमा चेल्सी: भेदभावपूर्ण नाराबाजीपछि आरोप दर्ता

काठमाडौं, १० असोज। प्रिमियर लिग सिजनको सुरुवातमा फुलह्यामविरुद्धको खेलमा टोलीले जित हासिल गर्दा समर्थकहरूले गरेको कथित भेदभावपूर्ण व्यवहारलाई लिएर इङ्लिस फुटबल एसोसिएसन (एफए) ले चेल्सी क्लबमाथि आरोप लगाएको छ।

 

गत अगस्ट २४ मा क्रेभेन कटेजमा भएको खेलमा चेल्सीले फुलह्यामलाई ३-२ ले पराजित गरेको थियो। उक्त जितपछि चेल्सीले आफ्ना समर्थकहरूलाई पत्र लेख्दै "दर्शकको सानो समूहबाट साम्प्रदायिक नाराबाजी भएको धेरै रिपोर्टहरू" प्राप्त भएको स्वीकार गरेको छ।

 

चेल्सी क्लब (ब्लुज) ले आफूहरूले कुनै पनि किसिमको भेदभावपूर्ण नाराबाजीलाई समर्थन नगर्ने र दोषी ठहरिने फ्यानहरूमाथि "सख्त कारबाही" गरिने जनाएको छ।

एफएका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "गत अगस्ट २४ मा फुलह्याम एफसीविरुद्धको प्रिमियर लिग खेलको नवौं मिनेटमा एफए नियम इ २१ उल्लङ्घन गरेकोमा चेल्सी एफसीलाई दोषी ठहराउँदै आरोप लगाइएको छ।"

 

विज्ञप्तिमा अगाडि भनिएको छ, "क्लबले आफ्ना दर्शक तथा समर्थकहरूलाई अनुचित, आपत्तिजनक वा अपमानजनक व्यवहार गर्नबाट रोक्न असफल भएको आरोप छ। उक्त व्यवहार धर्म वा आस्थासँग सम्बन्धित (प्रत्यक्ष वा अप्रत्यक्ष) भएकाले भेदभावपूर्ण रहेको थप ठहर गरिएको छ।"

 

यसअघि सन् २०२१ मा पनि चेल्सीले एस्टन भिल्लाका स्कटिस अन्तर्राष्ट्रिय खेलाडी जोन म्याकगिनमाथि साम्प्रदायिक दुर्व्यवहार गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भिडियो हाल्ने आफ्ना एक फ्यानको कार्यको कडा निन्दा गरेको थियो।

 

जारी प्रिमियर लिगमा चेल्सी सात अंक जोड्दै तालिकाको १० औं स्थानमा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button