समाचार

काठमाडौंसहित देशभर बिहानैदेखि वर्षा: असोज १२ सम्म भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ७ असोज । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशभरको मौसम प्रभावित भएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि सिमसिम पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बङ्गालको खाडीमा बनेको चक्रवात (समुद्री आँधी) थप शक्तिशाली हुँदै पश्चिम-उत्तर-पश्चिमतर्फ सर्ने क्रममा रहेकाले असोज ८ देखि १२ गतेसम्म (चार दिन) देशभर भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानका साथै तराईका विभिन्न क्षेत्रमा पनि वर्षाको आँकलन गरिएको छ। कोशी र बागमतीका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।

राति पनि मौसम बदली भई कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकीका केही स्थानमा वर्षा हुनेछ। बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button