‘पुलिस ब्याटन-२०८३’ : मधेशका प्रहरी कार्यालयहरुमा केन्द्रीय टोलीको अनुगमन

रौतहट, ६ असोज । नेपाल प्रहरीको सेवा प्रभावकारिता, कार्यदक्षता तथा संगठनात्मक सुधारको अवस्था मूल्याङ्कन गर्न सञ्चालन गरिएको ‘नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (Police Baton)–२०८३’ अन्तर्गत मधेस प्रदेशका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एवं अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शिद्धी विक्रम शाह नेतृत्वको टोलीले मधेस प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा मंगलवार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बारामा कार्यालयको भौतिक पूर्वाधार, उपलब्ध स्रोत–साधनको व्यवस्थापन, मानवस्रोत, ट्राफिक प्रहरीको कार्यसम्पादन तथा विभिन्न शाखाको अवस्था निरीक्षण गरिएको थियो।
टोलीले कार्यालयको समग्र कामकारबाहीको अवस्थाबारे जानकारी लिनुका साथै अभिलेख व्यवस्थापन, जनशक्ति परिचालन, प्रशासनिक गतिविधि र प्रहरी कार्यसम्पादनलगायतका विषयमा अनुगमन गरेको थियो। निरीक्षणका क्रममा एआईजी शाहले कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए।
त्यस अवसरमा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रहरी संगठनप्रतिको जनविश्वास थप मजबुत बनाउन निर्देशन दिएका थिए।
कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेतसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख तथा बाराका प्रहरी अधिकृतहरूको उपस्थिति थियो।
यसअघि पनि एआईजी शाह नेतृत्वको टोलीले पर्सा, बारा, रौतहटलगायत मधेस प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेको थियो। त्यसैक्रममा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषाको समेत निरीक्षण गरिएको छ। निरीक्षण टोलीमा एआईजी शाहसँगै डीआईजी दिनेशकुमार आचार्य, एसएसपी मुकुन्द मरासिनीलगायतका अधिकारी सहभागी थिए।
जनकपुरधाममा टोलीले कार्यालयको प्रस्तुतिकरणदेखि विभिन्न शाखाको कामकारबाही, अभिलेख तथा जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, अपराध अनुसन्धानको अवस्था र विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था तथा शान्ति–सुरक्षाका क्षेत्रमा प्रहरीले अपनाएका नयाँ अभ्यास र नवप्रवर्तनात्मक कार्यबारे निरीक्षण गरेको थियो।
नेपाल प्रहरीले असल अभ्यास पहिचान गर्दै आवश्यक पृष्ठपोषणमार्फत संगठनको कार्यसम्पादन र सेवा प्रभावकारिता सुधार गर्ने उद्देश्यले ‘Police Baton–२०८३’ सञ्चालन गरेको जनाएको छ। निरीक्षणको अन्त्यमा एआईजी शाहले प्रदेश तथा जिल्ला तहमा कार्यरत प्रहरी कर्मचारीलाई कार्यसम्पादन, अनुशासन, सेवा प्रवाह र संगठनको गरिमा कायम राख्ने विषयमा आवश्यक निर्देशन दिएका थिए।




