पसलमा हुलहुज्जत गर्ने छुट, प्रतिकार गर्ने रञ्जन सिंह प्रहरी हिरासतमा

। पर्सा वीरगंजमा पसलभित्र प्रवेश गरी हुलहुज्जत र हातपात गरेको दृश्य सीसीटीभीमा देखिए पनि घटनामा प्रतिकार गर्ने हिन्दुवादी अगुवा रञ्जन सिंह राजपूतलाई प्रहरीले हिरासतमा लिएपछि प्रहरीको कारबाहीमाथि प्रश्न उठेको छ।
पसलभित्र केही व्यक्तिहरू प्रवेश गरी व्यवसायीसँग विवाद र हातपात गरेको देखिने सीसीटीभी फुटेज सार्वजनिक भएको छ। उक्त घटनाका क्रममा आफ्नो भाइको पसल र जीउधनको सुरक्षाका लागि राजपूतले प्रतिकार गरेको उनको पक्षको दाबी छ।
तर, प्रहरीले राजपूतलाई नै पक्राउ गरी वडा प्रहरी कार्यालय श्रीपुरमा राखेको छ। उनलाई घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको बताइएको छ। पीडित पक्षले भने घटनाको सीसीटीभी फुटेज हुँदाहुँदै पसलमा प्रवेश गरी हुलहुज्जत गर्ने पक्षमाथि कारबाही नगरी राजपूतमाथि मात्र कारबाही अघि बढाइएको आरोप लगाएको छ।
राजपूतका समर्थक तथा स्थानीय व्यवसायीहरूले प्रहरीको अनुसन्धान एकपक्षीय हुन नहुने बताएका छन्। उनीहरूले सीसीटीभी फुटेजसहित घटनाको सुरुवातदेखि अन्त्यसम्म निष्पक्ष छानबिन गरी दोषी देखिएका सबैमाथि समान रूपमा कानुनी कारबाही गर्न माग गरेका छन्।
हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूले राजपूतमाथि पूर्वाग्रह राखेर कारबाही गर्न खोजिएको आरोप लगाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेका छन्। प्रहरीले एकपक्षीय रूपमा मुद्दा अघि बढाए आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले पीडितको बयानका आधारमा राजपूतलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।



