समाचार

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

 संसारकै सबैभन्दा लामो पर्खालको चर्चा गर्दा सबैभन्दा पहिले चीनको ‘ग्रेटवाल’को नाम आउँछ। तर, चीनपछि संसारकै लामो पर्खाल कहाँ छ भन्ने प्रश्नको उत्तर भने धेरैलाई थाहा नहुन सक्छ।

भारतको राजस्थानस्थित कुम्भलगढ किल्ला यही कारणले ऐतिहासिक र पर्यटकीय दृष्टिले विशेष मानिन्छ। किल्लालाई घेरेर बनाइएको विशाल पर्खाललाई चीनको ग्रेटवालपछि संसारकै लामो किल्ला–पर्खालमध्ये एकका रूपमा चिनिन्छ।

राजस्थानको राजसमन्द जिल्लामा रहेको कुम्भलगढ किल्ला मेवाडका शासक राणा कुम्भासँग जोडिएको महत्वपूर्ण ऐतिहासिक सम्पदा हो। अरावली पर्वत शृंखलाको दुर्गम भूगोलमा निर्माण गरिएको यो किल्ला प्राकृतिक र मानवीय सुरक्षा संरचनाको अदभूत संयोजन मानिन्छ।

किल्लाको चारैतिर फैलिएको विशाल पर्खालले पहाड, उपत्यका र घुमाउरा भूभागलाई समेटेको छ। यही भौगोलिक अवस्थाका कारण किल्ला तत्कालीन समयमा निकै कठिन पहुँच भएको दुर्गका रूपमा विकसित भएको थियो।

कुम्भलगढको पर्खाल कतिपय स्थानमा यति फराकिलो छ कि त्यसमा एकैपटक धेरै घोडा हिँड्न सक्ने जनश्रुति पाइन्छ। किल्लाको मजबुत संरचना र कठिन भौगोलिक अवस्थाले यसलाई आक्रमणकारीका लागि चुनौतीपूर्ण बनाएको इतिहासमा उल्लेख पाइन्छ।

कुम्भलगढ समुद्री सतहबाट करिब ११०० मिटरको उचाइमा रहेको छ। किल्लाको वरिपरि फैलिएको पर्खाल करिब ३६ किलोमिटर लामो रहेको बताइन्छ। किल्ला अरावली क्षेत्रका पहाड तथा उपत्यकालाई समेटेर निर्माण गरिएकाले यहाँबाट वरपरको विशाल भूभागसमेत अवलोकन गर्न सकिन्छ।

कुम्भलगढ किल्लाको निर्माण १५औँ शताब्दीमा राणा कुम्भाको शासनकालमा भएको हो। यसको निर्माणसँग जोडिएका ऐतिहासिक पक्ष र वास्तुकलाले यसलाई राजस्थानको महत्वपूर्ण सम्पदामध्ये स्थापित गरेको छ।

कुम्भलगढलाई चित्तौडगढसहित राजस्थानका पहाडी किल्लाहरूको समूहमा युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। यसको ऐतिहासिक महत्व, वास्तुकला, रणनीतिक अवस्थिति र प्राकृतिक परिवेशका कारण यो भारतको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। यो किला उदयपुरबाट ७० किलोमिटर टाढा छ ।

आज कुम्भलगढ केवल एउटा पुरानो किल्ला मात्र होइन, मध्यकालीन भारतको स्थापत्यकला, सैन्य रणनीति र प्राकृतिक भूगोललाई एकै ठाउँमा बुझ्न सकिने ऐतिहासिक स्थलका रूपमा पर्यटकलाई आकर्षित गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button