समाचार

​​​​​​​’सेउटा’ समर्थक जर्सी लगाएकोमा एमबाप्पेसहित तीन खेलाडीसँग माफीकाे माग

काठमाडौं, २ असोज — स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका समर्थकहरूको एउटा समूहले स्टार स्ट्राइकर किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटेसँग सार्वजनिक माफीको माग गरेको छ।

 

उत्तर अफ्रिकास्थित स्पेनी भूभाग 'सेउटा' का जनताप्रति ऐक्यबद्धता जनाउन तयार पारिएको विशेष टी-सर्ट पूर्ण रूपमा नलाई आंशिक रूपमा माथि खुम्च्याएर (रोल गरेर) लगाएपछि समर्थक समूह आक्रोशित बनेको हो।

 

ला लिगाअन्तर्गत एल्चेविरुद्ध म्याड्रिडले ३-२ को जित हासिल गर्नुअघि खेलाडीहरूले उक्त टी-सर्ट लगाएका थिए। टोलीका अन्य सदस्य र एल्चेका खेलाडीहरूले टी-सर्ट सही तरिकाले लगाएका भए पनि एमबाप्पे, भिनिसियस र कोनाटेले भने त्यसलाई माथि खुम्च्याएर लगाएका थिए।

 

सामाजिक सञ्जाल 'एक्स' (X) मा विज्ञप्ति जारी गर्दै 'अल्ट्रास सुर' नामक समर्थक समूहले ती तीन खेलाडीको व्यवहारलाई "अस्वीकार्य" भनेको छ। प्रायः अति-दक्षिणपन्थी विचारधारासँग जोडिने यस समूहले खेलाडीहरूको यस्तो प्रस्तुतिबाट हरेक रियल म्याड्रिड समर्थक र स्पेनी नागरिक लज्जित हुनुपरेको बताउँदै सार्वजनिक माफीको माग गरेको छ। साथै, समूहले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको मौनताको पनि आलोचना गरेको छ।

 

ला लिगाका अध्यक्ष जाभियर टेबासले पनि तीनै जना खेलाडीको कदमको आलोचना गरेका छन्। "टी-सर्टलाई आधा मात्र लगाउनु भनेको नलगाउनु सरह हो," टेबासले भने।

उक्त टी-सर्टमा "हामी सबै सेउटाका बासिन्दा हौँ" भन्ने सन्देश लेखिएको थियो। हालै आप्रवासन संकट र मानवीय समस्याबाट प्रभावित सेउटाका बासिन्दाहरूप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले यो अभियान चलाइएको थियो।

 

मोरक्कोबाट आएका आप्रवासीहरू समुद्र तट र सडकमा बस्न बाध्य हुँदा सहर अस्तव्यस्त बनेको छ भने गत जुलाई महिनामा सीमा पार गर्ने प्रयासका क्रममा धेरै मानिसले ज्यान गुमाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button