बालिका अपहरण प्रयास आरोपमा एक पक्राउ

जनकपुरधाम, ३० भदौ । बालिका अपहरण प्रयासको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्साका ३६ वर्षीय मनिष ठाकुर रहेका छन् ।
जनकपुरधामबाट ९ वर्षीया बालिकालाई ललाइफकाई गरी आफूसँग लैजाने प्रयास गरेको आरोपमा प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले महोत्तरीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भदौ १८ गते जनकपुरधामको रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलबाट छुट्टी भएपछि बाहिर निस्किएकी बालिकालाई ठाकुरले ललाइफकाई गरी आफूसँगै लैजाने प्रयास गरेका थिए । ती बालिका जान नमानेका थिएन । घटना बारे बालिकाका अभिभावकले प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरीले विद्यालय तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा ठाकुरको पहिचान खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार स्थायी घर सिरहा रहेको ती बालिका परिवारसहित जनकपुरधाममा डेरा गरी बस्दै आएकी छन् । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको खुलेको छ ।



