प्रचण्ड–नेपाल असोज ११ गते वीरगञ्ज आउँदै, नेकपा पर्साको एकता भेलालाई सम्बोधन गर्ने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल असोज ११ गते वीरगञ्ज आउने भएका छन्।
वीरगञ्जस्थित नगरसभा गृहमा आयोजना हुने नेकपा पर्साको जिल्ला एकता भेला, प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय संयोजक प्रचण्ड र सह–संयोजक नेपाल वीरगञ्ज आउन लागेका हुन्।
शीर्ष नेतृत्वको सहभागिता रहने कार्यक्रमलाई लक्षित गर्दै नेकपा पर्साले संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। जिल्ला संयोजक जयप्रकाश थारुको अध्यक्षतामा सोमबार बसेको जिल्ला पदाधिकारी बैठकले कार्यक्रम व्यवस्थापनका लागि २१७ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।
थारुकै संयोजकत्वमा गठन गरिएको मूल समितिमा केन्द्रीय तथा प्रदेश तहका नेताहरूलाई समेत समेटिएको छ। बैठकले कार्यक्रमको आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, स्वयंसेवक परिचालन, अतिथि सत्कार तथा प्रचार–प्रसारका लागि छुट्टाछुट्टै उपसमिति पनि गठन गरेको छ।
आर्थिक उपसमितिको संयोजकमा जयप्रकाश थारु रहेका छन्। सदस्यमा फिरोज बादशाह, सब्बा अन्सारी, रूपनारायण सिंह, जयशंकर यादव, अमिरीलाल कलवार, टुनटुन तिवारी, गजाधर पटेल र अनिल पटेल रहेका छन्।
त्यस्तै, जिल्ला सह–संयोजक गङ्गाबहादुर खड्काको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति तथा सह–संयोजक फिरोज बादशाहको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ। स्वयंसेवक उपसमितिको सह–संयोजकमा देवेन्द्र पटेल छन्।
अतिथि सत्कारको जिम्मेवारी विजयप्रसाद महतो र हिरा भट्टराईलाई दिइएको छ। महतो संयोजक तथा भट्टराई सह–संयोजक रहेको उपसमिति गठन गरिएको हो।
प्रचार–प्रसार उपसमितिको संयोजकमा किशोरीप्रसाद कुशवाहा छन्। उपसमितिमा प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका मधेश प्रदेश तथा पर्सा जिल्ला अध्यक्षहरूलाई सदस्यका रूपमा समेटिएको छ।
नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरीका अनुसार शीर्ष नेताहरूको उपस्थितिमा हुने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको छ।
जिल्ला एकता भेलासँगै प्रशिक्षण र शपथ ग्रहण कार्यक्रमसमेत हुने भएकाले यसलाई पार्टीको संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। शीर्ष नेतृत्वको उपस्थितिले पर्सामा पार्टीको एकता र संगठन विस्तारको अभियानलाई थप गति दिने नेकपा पर्साको अपेक्षा छ।
बैठकमा नेकपा मधेश प्रदेशका सह–संयोजक क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’, पर्सा सह–इन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुशवाहा तथा जिल्ला सह–संयोजकहरूलगायत नेताहरूको सहभागिता थियो।




