समाचार

सम्पत्ति शुद्धीकरण प्रकरण: सिंगापुरमा ६२४ विलासी वस्तुको अनलाइन लिलामी सुरु

सिंगापुर, २४ भदौ। सिंगापुरमा ३ अर्ब सिंगापुर डलर  बराबरको सम्पत्ति शुद्धीकरण (मनी लान्ड्रिङ) प्रकरणसँग सम्बन्धित ६२४ वटा विलासी वस्तुहरूको अनलाइन लिलामी सुरु भएको छ।

'च्यानल न्युजएसिया' का अनुसार 'हटलट्ज' लिलामी गृहको वेबसाइटमा ३३८ वटा ह्यान्डब्याग तथा सहायक सामग्रीहरू र २८६ थान गहनाहरू सूचीकृत गरिएका छन्।

 

यी सामग्रीहरू दुई चरणको लिलामीमार्फत बिक्री गरिँदै छ: 'लक्जरी ह्यान्डब्याग तथा सहायक सामग्री' र 'उत्कृष्ट गहना' )। तिनको संयुक्त मूल्य २९ लाखदेखि ३९ लाख सिंगापुर डलर बिच हुने अनुमान गरिएको छ। ह्यान्डब्याग र सहायक सामग्रीका लागि बोलकबोल (बिडिङ) सेप्टेम्बर २० मा र गहनाका लागि सेप्टेम्बर २७ मा समाप्त हुने तालिका छ।

 

लिलामीमा राखिएका वस्तुहरूमध्ये 'लुइस भिटन एक्स यायोई कुसामा' को 'पम्पकिन ब्याग' अर्थात सीमित संस्करणको मोनोग्राम लेदर ब्याग र १५.०२ क्यारेटको पहेंलो हीरा जडित औँठी समावेश छन्। उक्त औँठीका लागि सुरुवाती बोलकबोल मूल्य १,८०,००० सिंगापुर डलर तोकिएको छ, जुन सबै वस्तुहरूमध्ये सबैभन्दा उच्च सुरुवाती मूल्य हो।

 

'हटलट्ज' ले अन्तिम बोलकबोल मूल्यमा २० प्रतिशत 'क्रेता प्रिमियम' अर्थात अतिरिक्त शुल्क जोड्ने गर्दछ। यसमा सिंगापुरको वस्तु तथा सेवा कर समावेश हुन्छ, जुन विदेशी क्रेताहरूका लागि लागू नहुन पनि सक्छ। यदि कुनै वस्तुको लिलामी बन्द हुनुभन्दा अन्तिम पाँच मिनेटभित्र नयाँ बोलकबोल गरियो भने उक्त वस्तुको लिलामी समय थप पाँच मिनेटका लागि लम्ब्याइन्छ। यो प्रक्रिया तबसम्म जारी रहन्छ, जबसम्म पाँच मिनेटसम्म कुनै नयाँ बोलकबोल हुँदैन।

 

यी बिक्रीहरू योजना गरिएका १५ वटा अनलाइन लिलामीमध्येका पहिलो दुई हुन्, जुन सेप्टेम्बर २०२६ देखि मे २०२७ सम्म सञ्चालन हुनेछन्। दर्ता र अनिवार्य परिचय प्रमाणीकरण पछि विश्वभरका मानिसहरू यसमा सहभागी हुन सक्छन्। स्वीकृत सहभागीहरूले चांगीस्थित सुरक्षित 'ड्युटी-फ्री' भण्डारण सुविधा 'ले फ्रिपोर्ट' मा पूर्व-निर्धारित समय लिएर मात्र ती वस्तुहरू अवलोकन गर्न सक्छन्।

 

प्रहरीले ती सम्पत्तिहरू अगस्ट २०२५ मा बिक्रीका लागि लेखापरीक्षण फर्म 'डेलोइट' लाई हस्तान्तरण गरेको थियो। सिंगापुरका गृहमन्त्री के. शानमुगमले यसअघि संसदलाई जानकारी दिए अनुसार बिक्रीबाट प्राप्त रकम सरकारको 'समेकित कोष' मा जम्मा गरिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button