कर नतिरेका कारण पुर्व बेलायती फुटवलर बिरूद मुद्दा, २०० बढी फुटबलरकाे पनि बिजाेग

काठमाडौं, १२ भदौं । लिभरपुल तथा इङ्ल्यान्डका पूर्व खेलाडी एवं हालका फुटबल विश्लेषक जेमी क्यारागर करिब ७ देखि ८ लाख पाउन्ड कर नतिरेका कारण कर छलीको कारबाहीको दायरमा परेका छन ।
बीबीसीका अनुसार जेम्स ली डंकन क्यारागरविरुद्ध गत बुधबार मुद्दा दायर गरिएको छ। बेलायती कर कार्यालय ‘एचएम रेभिन्यु एन्ड कस्टम्स’का वकिलहरूले दायर गरेको कर छलीको सम्बन्धी निवेदनको खबर सर्वप्रथम ‘सिटी एएम’ ले सार्वजनिक गरेको थियो।
एचएमआरसीका एक प्रवक्ताले बीबीसी स्पोर्टलाई व्यक्तिगत मामिलामा टिप्पणी नगर्ने बताएका छन्। तर, उनले भने, ‘हामी कर दायित्व बाँकी रहेका ग्राहकहरूसँग सहयोगी दृष्टिकोण अपनाउँछौँ। सहकार्य गर्नेहरूलाई ऋणमुक्त गराउन किस्ताबन्दी योजना जस्ता सम्भव भएसम्मका सहयोग गर्छौँ। अन्तिम विकल्पका रूपमा मात्र कर छलीको घोषणाका लागि निवेदन दिने गरिन्छ।’
सन् १९९६ देखि २०१३ सम्म लिभरपुलबाट खेलेका क्यारागर हाल स्काई स्पोर्ट्सको प्रिमियर लिग कभरेज ‘स्टिक टु फुटबल’ शो र सीबीएस स्पोर्ट्सको च्याम्पियन्स लिग कार्यक्रममा विश्लेषकका रूपमा नियमित देखिन्छन्।
क्यारागरका एक सहयोगली भनेका छन्, ‘यो एक निजी कर मामिला हो, जुन अझ अगाडि नै समाधान भइ सक्नुपर्थ्यो। यसलाई टुंग्याउन आज उपयुक्त कदम चालिँदै छ। यो मामिला थप अघि नबढी छिट्टै समाधान हुने बुझिएको छ।’
खेल जीवनपछिको करियरमा कर सम्बन्धी समस्या झेल्ने क्यारागर एक्ला फुटबलर भने होइनन्। इङ्ल्यान्डका पूर्व खेलाडीहरू डेभिड जेम्स, वेस ब्राउन र ली हेन्ड्री यसअघि नै टाट पल्टिसके छन्। लिभरपुलका पूर्व सहकर्मी एमिल हेस्कीले सन् २०२४ मा १६ लाख ३७ हजार पाउन्ड कर सम्बन्धी कानुनी लडाइँ हारेका थिए।
त्यस्तै, सन् २०२५ मा ३६ हजार पाउन्ड भन्दा बढी कर तिर्न नसक्दा ट्रेभर सिन्क्लेयर दिवालिया घोषित भएका थिए भने सोही वर्ष लन्डनको उच्च अदालतमा एचएमआरसीले शन राइट फिलिप्सविरुद्ध पनि करछली सम्बन्धी मुद्दा दायर गरेको थियो।
गत सेप्टेम्बरमा सार्वजनिक भएको एक खुलासा अनुसार वित्तीय शोषण वा गलत लगानीका कारण २०० जनासम्म फुटबलरहरूले करोडौँ पाउन्ड गुमाएका छन्। जसका कारण कतिपयले घरबार गुमाएका छन् भने कतिपय टाट पल्टिएका छन्। बीबीसीका विश्लेषक एवं इङ्ल्यान्डका पूर्व मिडफिल्डर ड्यानी मर्फीले पनि वित्तीय शोषणका कारण आफूले करिब ५० लाख पाउन्ड गुमाएको बताएका थिए ।



