
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनापछि नेपाल प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लाको प्रहरी नेतृत्व परिवर्तन गरेको छ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई सरुवा गर्दै उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन कुमार भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो।
यसै सरुवा प्रक्रियाअन्तर्गत एसपी दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको नेपाल प्रहरीले जनाएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाले देशभरि व्यापक चर्चा पाएपछि पर्सामा शान्ति–सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले प्रहरी नेतृत्व परिवर्तन गरिएको जनाइएको छ। नयाँ प्रहरी नेतृत्वले अस्पतालसहित संवेदनशील क्षेत्रको सुरक्षा, शान्ति–सुव्यवस्था कायम राख्ने, दोषीमाथि कानुनी कारबाही अघि बढाउने तथा नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउने विषयलाई उच्च प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।



