मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर मंगलबार साँझ स्वदेश फर्किएका छन् ।
भदौ ६ गते मलेसिया प्रस्थान गरेका सिंह वैदेशिक रोजगारीमा रहेका मधेश प्रदेशका श्रमिकहरूको अवस्था र उनीहरूको समस्या तथा चुनौतीबारे जानकारी लिएका छन् ।
भ्रमणका क्रममा मुख्यमन्त्री सिंहले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्दै कामदारका समस्या, अधिकार र चुनौतीबारे छलफल गरेका थिए । उनले प्रदेश सरकार श्रमिकहरूको आवाजलाई नीतिगत रूपमा सम्बोधन गर्न गम्भीर रहेको र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।
सिंहले विभिन्न औपचारिक कार्यक्रममा पनि सहभागिता जनाउँदै नेपाल–मलेसिया श्रम सम्बन्ध, सुरक्षित वैदेशिक रोजगारी र कामदारको हितका विषयमा छलफल गरेका थिए । सचिवालयका अनुसार चारदिने भ्रमणबाट प्राप्त अनुभव र सुझावलाई प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणमा समावेश गर्ने तयारी भइरहेको छ ।
मुख्यमन्त्री सिंहको अनुपस्थितिमा प्रदेश सरकार सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्री तोकिएका थिए । यसबीचमा प्रदेश सरकारले हैजा नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा चुनौती समाधानका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको सचिवालयले जनाएको छ ।
मलेसियाबाट फर्किँदा गैरआवासीय मधेशी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’ सहितका पदाधिकारीले सिंहलाई मधेशको पहिचान झल्काउने गम्छा लगाएर सम्मान गरेका थिए ।