क्वालालम्पुर (मलेसिया):= नेपालीको लागि मलेसिया रोजगारी पुर्ण रुपमा खुल्न नपाउँदै यहाँ मलेसियामा कैयौं समस्याहरु देखापर्न थालेका छ्न । ती कैयौं समस्याहरु मध्य एक हुन वैदेशिक रोजगारीको नाममा भिजिट भिसा मार्फत ठगी धन्दा ।
भिजिट भिसामा मलेसिया आएर अलपत्र परेका धनुषा जिल्लाका प्रहलाद साह बानियाँलाई नेपाली राजदूतावासले उद्धार गरी स्वदेश पठाएको छ । उद्दार कार्यमा समन्वयकारी भुमिका प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” मलेसियाले निभाएका थिए, भने बानियाँलाई स्वदेश फर्किन आवश्यक पर्ने हवाई टिकट र खाना बस्न चाहिँ प्रवास नेपाली सम्पर्क विभाग मलेसिया “रास्वपा”ले सहयोग उपलब्ध गराएको हो ।
हाल मलेसियामा वैधानिक रूपमा कामदार पठाउने प्रक्रिया सुस्त भइरहेका बेला विभिन्न दलाल र एजेन्सीहरूले कम खर्च र आकर्षक पारिश्रमिकको प्रलोभन देखाई नेपालीहरूलाई भिजिट भिसामार्फत ल्याउने क्रम बढ्दो छ । यसै कारण धेरै नेपाली अलपत्र पर्ने गरेका छन् । यस्तै अवस्थामा मलेसिया आईपुगेका सहबनिया अचानक बिरामी परेपछि १४ अगस्टमा एक अपरिचित व्यक्तिले उनलाई दूतावास परिसरमा छोडेको थियो ।
कमजोर स्वास्थ्यका कारण दुई पटकसम्म बेहोस भएका उनलाई तत्कालै स्थानीय क्लिनिकमा उपचार गराइएको दूतावासले जनाएको छ ।चिकित्सकले उनलाई उच्च रक्तचाप र मधुमेह भएको पुष्टि गरेका थिए। दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई १६ अगस्टमा बटिक एयरमार्फत स्वदेश फर्काएको हो ।
यसै सन्दर्भमा दूतावासले अवैधानिक बाटोबाट मलेसिया नआउन र कुनै दलाल वा प्रलोभनमा नपरी श्रम स्वीकृति लिएर मात्र वैधानिक तरिकाले आउन आग्रह गरेको छ । साथै, समस्यामा परे तत्कालै दूतावासमा सम्पर्क गर्न पनि नेपाली कामदारलाई दूतावासले अपिल गरेको छ ।
