क्वालालम्पुर (मलेसिया) – नेपाल–मलेसिया अन्तरसांस्कृतिक परिवार संघको आयोजनामा मलेसियामा वैधानिक रूपमा विवाह गरेर बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाट तथा परिचयात्मक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ।
विभिन्न राज्य र शहरबाट आएका सहभागीहरूले आपसी चिनजान, अनुभव आदानप्रदान, वैवाहिक जीवनसँग सम्बन्धित चुनौती, कानुनी प्रक्रिया, सामाजिक समायोजन तथा सांस्कृतिक विविधता व्यवस्थापनबारे आफ्ना विचार राखेका थिए। कार्यक्रममा सहभागीहरूले यस्ता क्रियाकलापले परिवारबीच आत्मीयता, विश्वास र सहयोगी भावनालाई बलियो बनाउन सहयोग गर्ने धारणा व्यक्त गरे।
सो अवसरमा केसु थापाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उप–समन्वयक लक्ष्मी पोख्रेल, सदस्यहरू राजु सर्मा, सागर कोइराला, किरण थापा, उमेश प्रसाईं, निलकण्ठ न्यौपाने, सेल्भी बोहोरा, दीपक बोहोरा, इस्वर आले मगर, नेत्र केसी, राकेस प्रसाद महतो, रञ्जित क्षेत्री, अन्जु श्रीमाल, प्रदिप श्रेष्ठ, बिनोद पाण्डे रहेका छन् भने संरक्षक सल्लाहकारमा संकर बहादुर पौडेल रहनेछन्।
संयोजक थापाले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै, “हाम्रो पुस्तापछि पनि परिवारलाई नेपालसँग जोड्ने र भाषा–संस्कृति संरक्षण गर्ने लक्ष्यसहित यो पहल गरिएको हो” भने। कार्यक्रम सञ्चालन गरेका रञ्जित क्षेत्रीले अन्तरसांस्कृतिक परिवारबीच सहकार्य र एकताबद्धताको नयाँ ढोका खुलेकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा उपस्थित सबैले व्यक्तिगत परिचयसहित आफ्ना अनुभव, सुझाव र आगामी दिनमा समुदायलाई अझ संगठित बनाउन सकिने उपायहरूबारे विचार प्रस्तुत गरेका थिए।
