मधेससमाचार

स्थानीय भाषाको संरक्षणमा नयाँ प्रयास: ‘स्थानीयपोष्ट साप्ताहिक’को सुरुवात

रौतहट ।। रौतहटको गरुडामा स्थानीयपोष्ट साप्ताहिकको सार्वजनिकीकरण गरिएको छ । गरुडास्थित सुमित्रा प्यालेशमा एक समारोहबिच स्थानीय न्युज मिडिया प्रालिद्वारा प्रकाशित स्थानीयपोष्ट साप्ताहिकको पहिलो अंकलाई सार्वजनिक गर्दै सञ्चारकर्मी तथा बुद्धिजीवीहरुले स्थानीय पत्रिकाको महत्व अझ बढेको टिप्पणी गरेका छन् ।

जिल्लामा दर्जनौँ अखबारहरु प्रकाशनमा रहेको अवस्थामा स्थानीयपोष्ट साप्ताहिकका सम्पादक राजनारायण पटेलले अबदेखि स्थानीय भाषा, साहित्य र समाचारको बारेमा स्थानीयलाई नै बताउने युगको सुरुआत गरेको बताउँदै देश–विदेशका मुख्य समाचार तुरुन्त भाइरल हुने तर स्थानीय समाचारहरु ओझेलमा परेकोले स्थानीयलाई सुसूचित गर्न आवश्यक रहेको बताएका छन् । सम्पादक पटेलले स्थानीयलाई स्थानीयले चिनाउने प्रयासमा स्थानीयपोष्टको प्रकाशनारम्भ भएको बताउँदै मुख्य सरोकार नै स्थानीयता भएको प्रतिबद्धता पनि पटेलले व्यक्त गरेका छन् ।

कार्यक्रममा साहित्यकार सञ्जय साह मित्रले पत्रिकाले लिएको उद्देश्यबमोजिम खोजमूलक सन्देश तथा भाषा र साहित्यको सेवामा लाग्न सके स्थानीय प्रतिभाको पहिचान तथा प्रोत्साहनमा सजिलो पुग्ने विश्वास व्यक्त गरेका छन् । साहित्यकार मित्रले नेपाली र बज्जिका भाषामा दर्ता भएको स्थानीयपोष्ट साप्ताहिकमा बज्जिका भाषा, साहित्य र संस्कृतिका साथै समाचारमा पनि आधाको हकदार भएको जिकिर गरेका छन् ।

लोसपा नेपालका केन्द्रीय सदस्य राम प्रवेश दासले मिडियाले भोगिरहेका समस्याको समाधान गर्न आफ्नो व्यक्तिगत तथा पार्टीको तर्फबाट पनि भूमिका खेल्न तयार रहेको बताउँदै स्थानीयपोष्टलाई स्थानीय समस्यासित जोड्नुपर्ने सुझाव दिएका छन् । नेता दासले पत्रकारिताको क्षेत्रमा स्थानीयपोष्टले नयाँपन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पत्रिकालाई आफूले गर्न सक्ने सबै किसिमको सहयोगका लागि सदैव तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

समाजवादी प्रेस संगठनका रौतहट अध्यक्ष दिनेश संगमले खोजमूलक पत्रकारितामा साप्ताहिक पत्रिकाले जोड दिनुपर्ने बताउँदै आफ्नो विशिष्ट पत्रकारितामा ध्यान दिन सुझाव दिएका छन् ।

श्रमजीवी पत्रकार संघ रौतहटका उपाध्यक्ष राकेशकुमार यादवले मिडियाको भीडमा स्थानीयपोष्ट नहराओस् भन्ने कामना गर्दै हरेक पत्रकारले सम्भव भएसम्म स्थानीयपोष्ट साप्ताहिकलाई सहयोग गर्नुपर्ने तथा आफू सहयोगको लागि हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसै गरी बज्जिका पत्रकार संघ नेपालका अध्यक्ष राजेश्वरनाथ पाण्डेले पत्रकारिता पेसा अंगाल्नु तथा यसलाई निरन्तरता दिनु निकै संघर्षपूर्ण काम भएको बताउँदै पत्रिकाले स्थानीय भाषालाई विशेष महत्व दिनुपर्नेमा जोड दिएका छन् ।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बज्जिका भाषा र साहित्यको विकासमा स्थानीयपोस्ट साप्ताहिकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै संगम र व्यक्तिगत रुपमा गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको बताएका छन् ।

नवसर्जक साहित्य चौतारीका मधेश प्रदेश अध्यक्ष अभिजित रामले स्थानीयपोष्ट साप्ताहिकले भाषा र साहित्यलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै पत्रिकाले आगामी दिनमा साहित्यको विकासमा थप योगदान दिने कुरामा विश्वस्त रहेको बताएका छन् ।

राष्ट्रिय शिक्षक मंचका रौतहट अध्यक्ष शिवशंकर झाले स्थानीयहरुको आवाज बन्न सफल बनोस् भन्ने कामना गर्दै आगामी दिनमा स्थानीयपोष्ट साप्ताहिकको विकास राष्ट्रियस्तरमा भएको आफूले देख्न चाहेको बताएका छन् ।

कार्यक्रममा पत्रकार सागर संगम ठाकुर, चन्दनकुमार महतोलगायतले मन्तव्य व्यक्त गर्दै एउटा प्रतिबद्ध पत्रकारिताको आवश्यकतालाई साहित्यपोष्टले पूरा गर्ने विश्वास आफूहरुले लिएको बताएका छन् ।

पत्रिकाका सम्पादक राजनारायण पटेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितलाई स्वागत तथा संचालन गर्दै लोकतान्त्रिक पत्रकार संघका रौतहट अध्यक्ष राजुकुमार श्रीवास्तवले पत्रिकाले सबैको सुझावलाई विचार गर्दै आगामी दिनमा थप आकर्षक र सबैको प्रिय बनाउन ध्यान दिने बताएका छन् ।

कार्यक्रममा पत्रकार तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button