भारतलाई ८ अर्ब ३२ करोडको विद्युत् बिक्री, ५ अर्ब ३६ करोडको खरिद
देशभित्रको ऊर्जा मागअनुसार उत्पादन हुन छाडेपछि पुस पहिलो सातादेखि विद्युत् निर्यात बन्द
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले गत ६ महिना (साउनदेखि पुससम्म) मा बिजुली बिक्री गरेर ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । सुक्खायाम लम्बिएर आयात बढाउनु परेपछि त्यसबापतको रकम समेत बाहिरिएको छ । अर्थात् चालु आर्थिक वर्षको हालसम्ममा विद्युत् आयात गर्दा ५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि पुससम्ममा बढी भएको बिजुली भारतीय ऊर्जा विनिमय (आईएक्स) मा बिक्री गरिएको हो । प्राधिकरणले साउनमा करिब १ अर्ब ४ करोड रुपैयाँको बिजुली बेचेको थियो । भदौमा करिब १ अर्ब ९८ करोड, असोजमा सबैभन्दा धेरै करिब २ अर्ब २५ करोड, कात्तिकमा करिब १ अर्ब ५२ करोड र मंसिरमा करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यस्तै पुसमा करिब २१ करोड रुपैयाँको बिजुली बिक्री भएको छ । सात महिनामा १० लाख ७८ हजार ८४८ गिगावाट घण्टा बिजुली भारत निर्यात भएको छ । प्राधिकरणले देशभित्रको मागअनुसार आफ्नो उत्पादन हुन छाडेपछि पुस पहिलो सातादेखि विद्युत् निर्यात बन्द गरेको छ ।
त्यसैगरी प्राधिकरणले साउनदेखि फागुन १५ सम्ममा ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको छ । प्राधिकरणका अनुसार सुक्खायाम सुरु भएसँगै नदीमा पानीको बहाव घट्नाले उत्पादनमा कमी हुँदा भारतबाट आयात गर्नु परेको छ । हाल प्राधिकरणले दैनिक करिब ४ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । साउनमा करिब १ करोड, भदौमा करिब २ करोड र असोजमा करिब २ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो । सुक्खायाम सुरुवातसँगै कात्तिकपछि बिजुली आयात बढेको प्राधिकरणले जनाएको छ । कात्तिकमा करिब ३ करोड, मंसिरमा करिब २० करोड, पुसमा करिब ९२ करोड रुपैयाँ बराबरको आयात भएको छ । माघमा आयात करिब २ अर्ब ९७ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । फागुनको १५ दिनमा करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात भएको छ ।
साउनदेखि माघसम्ममा २ लाख ७४ हजार ८३६ गिगावाट घण्टा बिजुली नेपालले किनेको छ । यस वर्ष सुक्खाले गर्दा आन्तरिक उत्पादनमा निकै कमी आएको कारण आयात बढी गर्नुपरेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार हिउँदमा वर्षा नहुँदा यसपालि आन्तरिक उत्पादन करिब एक तिहाइमा खुम्चिँदा औद्योगिक क्षेत्रमा कटौती भएको छ । ‘औद्योगिक क्षेत्रमा उच्च माग हुने समयमा कटौती हुने गरेको छ,’ उनले भने, ‘घरयासी प्रयोजनमा भने कटौती गरिएको छैन ।’ प्राधिकरणले बढी भएको बिजुली भारतीय विद्युत् व्यापारलाई बिक्री गर्ने गरेको छ । जसमा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट करिब ८ रुपैयाँ २२ पैसा छ । ईकान्तिपुर