शंकास्पद चिनियाँ नागरिक विमानस्थलबाटै

90

शंकास्पद ढंगले नेपाल प्रवेश गर्न खोज्ने एक चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। ज्बरर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने चिनियाँ नागरिक औयाङ लेईलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको स्रोतले बताएको छ।

चिनियाँ नागरिक लेई मंगलबार चाइना साउर्दनको ६०६७ नम्बरको उडानबाट काठमाडौं आएका थिए। उनी सन २०२२ मा १ सय ५० दिन नेपाल बसेर फर्किएका थिए। एक वर्षमा पर्यटक भिसा प्रवेशाज्ञामा १ सय ५० दिन नेपाल बसेर फर्किएका विदेशी नागरिकहरू सोही भिसा वर्षमा नेपाल आउन पाउँदैनन्। तर उनी सन् २०२२ भर नेपाल प्रवेश गर्न नपाउने थाहा हुँदाहुँदै पनि नेपाल प्रवेश गर्न खोजेको अध्यागमन स्रोतले दाबी गरेको छ।

उनलाई रोक्दा अध्यागमनका अधिकारीहरूसँग केहीबेर सबालजवाफ भएको थियो। अध्यागमन ऐन र नियमावलीअनुसार उनलाई इन्ट्री रिफ्युज्ड गरिएको हो।

१ सय ५० दिन पर्यटक भिसामा नेपाल बसेर गएका उनले फेरि सोही भिसा वर्षमा नेपाल आउनुको उद्देश्यसमेत स्पष्ट पार्न सकेनन्। पछिल्लो समयमा चिनियाँ नागरिकहरू नेपालमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। गत मंसिर १८ गते चिनियाँ नागरिकहरू एकआपसमा झगडा गर्दा इन्द्रचोकमा एक जनाको मृत्यु भएको थियो।

आर्थिक लेनदेनको विषयलाई लिएर भएको विवादमा चिनियाँ नागरिक फेङ जेनयुङले दुई जना चिनियाँ नागरिकमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट चिनियाँ नागरिक गान साउजिओङको मृत्यु भएको थियो। उनीहरू सबै पर्यटक भिसामा नेपाल आएका थिए। पर्यटक भिसाको दुरुपयोग गर्दै चिनियाँ नागरिकहरू नेपालमा अवैध गतिविधिमा संलग्न हुँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.